देवदहमा एक युवाको हत्या अभियोगमा ४ जना पक्राउ

मुख्य समाचार समाज

रुपन्देही, २६ जेठ, रुपन्देहीको देवदहमा एक जना युवकको हत्या भएको छ । देवदह नगरपालिका वडा नं.– ८ प्रेम टोलका २८ वर्षीय सुमन थापाको गए राती हत्या भएको हो ।

थापाको आफ्नै साथीहरुको कुटपिटबाट हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्याको अभियोगमा प्रहरीले स्थानीय २४ वर्षीय लक्ष्मण थारु, १९ वर्षीय सुवास क्षेत्री, २४ वर्षीय रेखबहादुर महतो र २३ वर्षीय हिराबहादुर महतोलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकामध्ये लक्ष्मण थारुले रातीको समयमा थापाले आफनो घरको ढोका लगातार हानेपछि बाहिर निस्कँदा हानाहान भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।

गए राती करिब १० बजेको समयमा स्थनीयले बेहोस अवस्था थापालाई देखेपछि मृत्तक थापाकै मामाले प्रहरीलाई खबर गरेका थिए । तत्काल अस्पताल पुर्याइएका थापालाई उपचारकै क्रममा अस्पतालले मृत घोषणा गरेको होे ।