नेपालीको नयाँ श्रम गन्तव्य मरिसस, शून्य लागतमै रोजगारीमा जान पाइने

आजको बजार मुख्य समाचार रोजगार

काठमाडौं, जेठ २६, २०७६ । नेपाल सरकारले मरिसस सरकारसँग नेपाली कामदारलाई अधिक सेवा सुविधासहितको आकर्षक तलब दिने श्रम सम्झौतामा हस्ताक्षर गर्ने भएको छ । नेपाल सरकारले नेपाली कामदारका लागि नयाँ श्रम गन्तव्यको रुपमा मरिसस सरकारसँग सम्झौता गर्न लागेको हो ।

नेपाल र मरिससले पारदर्शिता, निष्पक्षता र नैतिकताका आधारमा श्रमिक भर्ना प्रणालीलाई अवलम्बन गर्ने बताएका छन् । श्रमिकको भर्ना छनौटदेखि गन्तव्य मुलुकसम्म पुग्दा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै ब्यहोर्ने गरी सम्झौता हुन लागेको हो ।

नेपाली कामदारले ‘भर्ना प्रक्रियादेखि कुनै शूल्क तिर्न नपर्ने विषयलाई मस्यौदामा प्रष्ट गरी लेखिएको छ । कामदारको छनौट प्रक्रियामा कुनै निकायले नजायज फाइदा नउठाओस् भन्ने उद्देश्यले दुवै मुलुकले संयन्त्र बनाएर अनुगमन गर्ने समझदारीको मस्यौदामा उल्लेख गरिएको छ।

वैदेशिक रोजगारीका नाममा हुने मानव बेचबिखन र मानव तस्करी रोक्ने विषयलाई पनि समझदारीले प्रष्ट पारेको छ । रोजगारदाताको कमीकमजोरीका कारण वा कम्पनी बन्द भएमा नेपाली कामदारले वैकल्पिक रोजगारी खोज्नसक्ने मस्यौदामा उल्लेख गरिएको छ ।

समझदारीमा नेपाली श्रमिकलाई मरिससको नागरिकलाई भन्दा कम पारिश्रमिक दिन नपाउने व्यवस्था छ । मरिससका रोजगारदाता कम्पनीले सीधै नेपालका म्यानपावर कम्पनीसमक्ष कामदार माग गर्नेछन् ।