विप्लव समूहप्रति आक्रामक प्रहरी, कास्कीबाट १८ कार्यकर्ता पक्राउ

राजनीति

काठमाडौं, २६ जेठ, २०७६ । नेपाल प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का १८ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । कास्की प्रहरीले गएराती उनीहरुलाई अन्नपूर्ण गाउँपालिकाबाट पक्राउ गरेको हो ।

प्रहरीले १३ जना पुरुष र ४ जना महिला गरि १८ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । जसमध्ये विप्लवका कास्की जिल्ला सेक्रेटरी मिलन राईसमेत रहेका छन्। प्रहरीले उनीहरुलाई शनिबार दिउँसोदेखि घेरा हालेर राती पक्राउ गरेको हो ।

जिल्ला सदस्य तथा एरिया इन्चार्ज सन्तोष परियार, विद्यार्थी संगठनका केन्द्रीय सदस्यहरु मिलन राई र काजी गुरुङसहितका नेता तथा कार्यकर्ता पक्राउ परेका हुन् ।

स्थानीय आमा समूहको भवनमा बैठक बस्दै गर्दा प्रहरीले भवन घेरा हालेर उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विप्लवका मध्यपश्चिम क्षेत्रका कमान्डरसहितका नेताहरु अन्नपूर्ण गाउँपालिकामा हुने विशेष बैठकमा उपस्थित हुने सूचना प्रहरीले पाए पनि उनीहरु नभेटिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।