प्रधानमन्त्री ओली युरोप भ्रमणमा, करिब दुई सातापछि नेपाल फर्किने

मुख्य समाचार राजनीति

काठमाडौं, २६ जेठ, २०७६ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार यूरोप भ्रमणमा निस्किएका छन् । उनी झण्डै दुई साता लामो भ्रमणमा शनिबार साँझ निस्किएका हुन् ।

प्रधानमन्त्री ओली स्वीजरल्याण्डको राजधानी जेनेभा प्रस्थान गरेका हुन् । ओलीसँगै भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत छन् ।

प्रधानमन्त्री ओली जेठ २७ गते जनेभामा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को शतवार्षिकीमा सहभागी हुन जेनेभा गएका हुन् । उनले उक्त सभामा सम्बोधन समेत गर्ने छन् ।

यस्तै प्रधानमन्त्री ओलीले जेनेभामा द्विपक्षीय भेटवार्ता गरेर सोही दिन (२७ गते) साँझ बेलायत जाने छन् । प्रधानमन्त्रीले बेलायतमा केही उच्चस्तरीय भेटघाट गर्नुका साथै अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिने एक विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

बेलायतपछि भ्रमणको अन्तिम दिन प्रधानमन्त्री ओली जेठ २९ गते फ्रान्स जानेछन् । प्रधानमन्त्रीले फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।