कसरी बच्ने डेंगुबाट ?

मुख्य समाचार विषेश समाचार स्वास्थ्य

काठमाडौँ, २५ जेठ, २०७६ । लामखुट्टेको टोकाइबाट सर्ने चार रोगमध्ये डेंगु त्यस्तो रोग हो, जो वर्षेनी नेपालका विभिन्न जिल्लामा प्रकोपको रुप लिई सयौं मानिस अस्पताल भर्ना हुनुपर्छ र केहीले मृत्युवरण पनि । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार विश्वको कुल जनसंख्यामध्ये ४० प्रतिशत मानिस डेंगुको जोखिम रहेका क्षेत्रमा बसोबास गर्छन् ।

वर्खाकाे समयमा डेंगु देखिने सम्भावना अत्यधिक हुन्छ । यसैलाई राेक्नका लागि सरकारले वर्षेनी
‘लामखुट्टेको खोज र नष्ट गर’ लगायत कार्यक्रम सञ्चालन गर्छ । यो एडिस नामक लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन पहिलो चरणमा ज्वरो आउने लगायतका लक्षण देखापरे पनि ध्यान नदिए यसले जटिल रुप लिने बताउँछन् ।

डेंगु राेग लाग्दा देखिने लक्षणहरुः

पहिलो चरणमा देखापर्ने लक्षणहरु :
– उच्च ज्वरो आउनु
– आँखाको गेडी दुख्नु तथा हल्का रातो हुनु
– जोर्नी र मासंपेशीमा अत्यधिक पीडा हुनु
– शरीर चिलाउनु/हल्का बिबिरासमेत आउनु

खतराको संकेत (वार्निङ साइन):
– निरन्तर वान्ता हुनु
– वाकवाकी लाग्नु
– पेट दुख्नु
– दिसा कालो हुनु तथा पिसाब रातो हुनु
– गिजा तथा नाक, मुखबाट रगत आउनु
– आलस्य हुनु

लामखुट्टेको टोकाइबाट बच्न घरवरिपरिको सरसफाईमा ध्यान दिन डा. पुनको सुझाव छ । यो लामखुट्टे विशेष गरी बिहान र साँझको समयमा बढी सक्रिय हुन्छन् । विभिन्न भाडाकुडा तथा टायरमा जम्ने पानीमा यसले आफ्नो लार्भा छोड्ने हुँदा जम्मा गरिएर राखिएका पानीका भाडा छोपेर राख्न डा. पुनको आग्रह छ । सकभर बाल्टिन, ड्रम, टायर लगायतका भाडामा पानी जम्न दिनु हुँदैन । घरवरिपरि सफा राख्नुपर्छ । केही लक्षण देखापर्ने बित्तिकै तुरुन्त नजिकैकाे स्वास्थ्यमा संस्था जानु आवश्यक छ ।