मापदण्डविपरित सञ्चालित ल्याव र मेडिकलमा सिलबन्दी

मुख्य समाचार विषेश समाचार स्वास्थ्य

सुर्खेत, २५ जेठ, २०७६ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरका दुई वटा ल्याव र एउटा मेडिकल हलमा सिलबन्दी गरेको छ । गत सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वीरेन्द्रनगरका पाँँच वटा नर्सिङ होम, पोलिक्लिनिक र मेडिकल हलको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा सुभास मेडिकल हलले अर्कैको नाममा मेडिकल सञ्चालन गरेको पाइएको थियो । ‘विवेक मेडिकल हलको नाममा दर्ता गरेर सुभास मेडिकल हलको नामबाट मेडिकल सञ्चालन गरेको पाइयो’ प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले भने, ‘अर्कैको नाममा दर्ता गरेकाले मेडिकलमा सिलबन्दी गरेका हौं ।’

यस्तै सुभास मेडिकलले नवीकरण नगरेरै पोलिक्लिनिक पनि सञ्चालन गरिरहेको पाइएको छ । प्रजिअ पोखरेलले नवीकरण नगरेरै सञ्चालन भइरहेको बुलबुले डायनोष्टिक तथा पोलिक्लिनिकसँगै सुभास मेडिकलमा सिलबन्दी गरिएको बताए ।

प्रशासनले आशा मेडिकल हल र तृप्ती मेडिकल हलले सञ्चालन गरिरहेका ल्यावहरु पनि सिलबन्दी गरेको छ । आशा मेडिकल हलले पोलिक्लिनिक दर्ता गरेको भए पनि ल्याव र डे«सिङ रुम एउटै कोठामा राखेको पाइएको उनले जानकारी दिए । यस्तै तृप्ती मेडिकलले अनुमति बिनै ल्याव सञ्चालन गरेकाले सिलबन्दी गरिएको उनले बताए ।