दुई लाख नक्कली रुपैयाँसहित रौतहटबाट दुईजना पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार समाज

रौतहट, २४ जेठ, दुई लाख नक्कली नेपाली रुपैयाँसहित रौतहटमा दुईजना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले दुई लाख नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कटहरिया न.पा.–७ का ६१ वर्षीय जियालाल महतो र मौलापुर न.पा. ७ का ४० वर्षीय बिहारी साह रहेका छन् । कटहरिया बजारमा दुबै जनालाई प्रहरीले शंका लागि चेकजाँच गर्दा एक हजार दरका दुई सय नक्कली नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेपछि महतो र साहले अनुसन्धानको क्रममा आफूहरुको नोट नभई बाराका दुई जनाले आफूहरुलाई कटहरियासम्म नोट पुर्याउने जिम्मा दिएको बयान दिएका छन् ।

बाराको आदर्श कोतवाल गापा–६ का २५ वर्षीय आनन्द कुशवाहा र बाराकै सिम्रौनगढा नपाका ३५ वर्षीय मनोज साह तेलीको रुपैयाँ भएको र दुबैले आफूहरुलाई भरिया बनाइ पठाएको प्रहरीसमक्ष बयान दिएको रौतहट प्रहरीले जनाएको छ ।