[कविता] नयाँ सोच नखोजी भएन — डिल्लीराज अर्याल

मुख्य समाचार साहित्य

बिराला जहाँ पाउँछन् दूध भात
जहाँ श्वानले पाउँछन् मासु भात
त्यहीं पिण्ड कुर्दैछ मान्छे,समाज
गयो खै कता भन्नुपर्दैन आज ?

चढेको छ अग्लो भनेको हिमाल
पुगेको छ आकाशमा, हेर हाल
बसायो पुरी सिन्धुमा गन्छ ताल ?
यसैको नराम्रो सधैं हुन्छ ताल

सबैको भलो गर्छु भन्दैछ भन्न
सँगै ढुक्कले सास फेर्नै सकिन्न
अहो ! नामले मात्र केही नि हुन्न
गयो सभ्यता शिष्टता देखिइन्न

चुहेको भए छानु झै यत्न हुन्थ्यो
नुहेको भए टिप्न आधार हुन्थ्यो
कताको भयो खै कता गैरह्यो यो
सबै भन्दछन् बिग्रने भत्कने भो

पखालेर राख्ने कुरो ता भएन
सजाएर राख्ने गरूँ भन्ने छैन
हरे ! गर्छु केही भनेको भएन
नयाँ सोच केही नखोजी भएन !