अब इलेक्ट्रिक स्कुटर पनि दर्ता गर्नु पर्ने

ट्राफिक/प्रहरी मुख्य समाचार

काठमाडौँ, २३ भदौ, अब इलेक्ट्रिक स्कुटर पनि दर्ता गरेर मात्रै गुडाउन पाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले ट्राफिक प्रहरी निर्देशनालयलाई इलेक्ट्रिक स्कुटर दर्ता नगरिएको पाइए कारबाही गर्न निर्देशन दिएको छ ।

निर्देशनमा भनिएको छ, ”…यान्त्रिक शक्तिबाट सडकमा चल्ने सवारी साधनहरु खास गरी इलेक्ट्रिक स्कुटरहरु विना दर्ता सडकमा सञ्चालन भएको पाइएको हुँदा त्यस्ता सवारीहरुलाई सवराी तथा यातायात व्यवस्था ऐनको दफा १६० को उपदफा (२) को खण्ड (ख) बमोजिम कार्वाही गर्नु/गराउनु हुन मिति २०७६।०२।२० को निर्णयानुसार अनुरोध छ ।”

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १४ को उपदफा (१) मा कुनै पनि सवारी खरिद गर्ने वा विदेशबाट पैठारी गर्ने व्यक्ति फर्म वा कम्पनी वा सवारी बिक्री वितरण गर्ने एजेन्टले सवारी खरिद गरेको वा पैठारी गरी नेपालभित्र ल्याएको मितिले पन्ध्र दिनभित्र अधिकार प्राप्त अधिकारी समक्ष दर्ता गराउनु पर्छ भनि उल्लेख गरिएको छ । यसैगरी उपदफा (२) मा उपदफा (१) बमोजिम कुनै पनि सवारी चलाउन वा चलाउन हुँदैन भन्ने व्यवस्था रहेको छ । यसै व्यवस्थामा टेकेर विभागले कारबाही गर्न निर्देशन दिएको हो ।