सोलुखुम्बुका स्थानीय तहलाई पौने २ अर्ब बजेट

आजको बजार प्रदेश मुख्य समाचार

सोलुखुम्बु, २२ जेठ, २०७६ । आर्थिक वर्ष २०७६–७७ का लागि सोलुखुम्बुका स्थानीय तहले पौने २ अर्ब बजेट पाउने भएका छन् । सरकारले गएको जेठ १५ गते सार्वजनिक गरेको बजेट भाषण अनुसार एक नगरपालिका र ७ गाउँपालिका रहेको जिल्लाले एक अर्ब ७५ करोड ६५ लाख बजेट अनुदान पाउने भएका हुन् ।

सबैभन्दा बढि सोलुदुधकुण्ड नगरपालिकाले २० करोड १५ लाख सशर्त अनुदान र १३ करोड ३८ लाख वित्तिय समानिकरण गरी ३३ करोड ५३ लाख बजेट अनुदानको रुपमा पाउने भएको छ ।

सात गाउँपालिकामध्ये नेचासल्यान गाउँपालिकाले सबैभन्दा बढि बजेट पाउने भएका छन् । गाउँपालिकाले ११ करोड ५१ लाख वित्तिय समानिकरण र १८ करोड ६५ लाख सशर्त अनुदान गरी ३० करोड १६ लाख बजेट अनुदान पाउने भएको छ ।

आगामी आर्थिक वर्षमा थुलुङदुधकोशी गाउँपालिकाले २९ करोड १६ लाख अनुदान बजेट पाउने भएको छ । गाउँपालिकाले वित्तिय समानिकरण तर्फ १२ करोड ६० लाख र सशर्त अनुदान तर्फ १७ करोड ३० लाख बजेट पाउनेछ ।

माप्य दूधकोशी गाउँपालिकाले १० करोड १० लाख वित्तिय समानिकरण तर्फ र १० करोड ५३ लाख सशर्त अनुदान तर्फ गरी २० करोड ६३ लाख बजेट पाउने भएको छ भने महाकुलुङ गाउँपालिकाले १६ करोड ३२ लाख अनुदान बजेट पाउने भएको छ । सो गाउँपालिकाले ९ करोड ६ लाख वित्तिय समानिकरण र ७ करोड २६ लाख सशर्त अनुदान प्राप्त हुने भएको हो ।

पर्यटकीय गाउँपालिका खुम्बुपासाङल्हामूले ८ करोड २७ लाख वित्तिय समानिकरण र ७ करोड ३२ लाख सशर्त गरी १५ करोड ५९ लाख अनुदान पाउने भएको छ । जिल्लाको तल्लो भेगमा अवस्थित सोताङ गाउँपालिकाले ८ करोड एक लाख वित्तिय समानिकरण र ७ करोड ९५ लाख सशर्त अनुदान गरी १५ करोड ९६ लाख अनुदान पाउने भएको हो ।

जिल्लाको डाँडापारिको गाउँपालिका लिखुपिकेले सबैभन्दा कम १३ करोड ५६ लाख अनुदान बजेट पाउने भएको छ । सो गाउँपालिकाले ६ करोड ८० लाख वित्तिय समानिकरण र ६ करोड ७६ लाख सशर्त अनुदान पाउने भएको हो ।