रसुवाको स्थानीय तहलाई ८२ करोड ३७ लाख बजेट

आजको बजार प्रदेश मुख्य समाचार

रसुवा, २२ जेठ, २०७६ । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रसुवाका पाँचवटा स्थानीय तहले ८२ करोड ३७ लाख बजेट पाएका छन् । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि ३ करोड ५८ लाख बजेट घटेकोे हो । वित्तीय समानीकरण अन्तर्गत ३८ करोड ४९ लाख र सर्शत अनुदान अन्तर्गत ४३ करोड ८८ लाख बजेट राखिएको छ ।

जिल्लाको उत्तरगया गाउँपालिकाको लागि वित्तीय समानीकरण अन्तर्गत ७ करोड ४४ लाख तथा सर्शत अनुदान अन्तर्गत १० करोड १० लाख गरी १७ करोड ५४ लाख, कालिका गाउँपालिकामा वित्तिय समानीकरण अन्तर्गत ८ करोड २ लाख तथा सर्शत अनुदान अन्तर्गत ९ करोड ८५ लाख गरी १७ करोड ८७ लाख वजेट विनियोजन गरिएको छ ।

त्यसैगरी गोसाइँकुण्ड गाउँपालिकाका लागि वित्तिय समानीकरण अन्तर्गत ७ करोेड ७५ लाख तथा सर्शत अनुदान अन्तर्गत ८ करोड २५ लाख गरी १६ करोड, नौकुण्ड गाउँपालिकामा वित्तिय समानीकरण अन्तर्गत ८ करोड ५२ लाख तथा सर्शत अनुदान अन्तर्गत ९ करोड ७१ लाख १८ करोड २३ लाख र आमाछोदिङ्मो गाउँपालिकाका लागि वित्तिय समानीकरण अन्तर्गत ६ करोड ७६ लाख तथा सर्शत अनुदान अन्तर्गत ५ करोड ५७ लाख गरी १२ करोड ७३ लाख बजेट छुट्याइएको हो ।

चालु आर्थिक वर्षको तुलनामा उत्तरगया र कालिका गाउँपालिकालाई बढी र गोसाइँकुण्ड, आमाछोदिङ्मो र नौकुण्ड गाउँपालिकालाई कम बजेट परेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।