चन्दा नदिँदा राजपुर नगरपालिकाका मेयर कुटिए

प्रदेश मुख्य समाचार

रौतहट, २२ जेठ, २०७६ । रमजानको अन्तिम नेमाज पढ्न गएका राजपुर नगरपालिकाका मेयर शेख शकिल अख्तर माथि स्थानीय युवाहरुले कुटपिट गरेर घाइते बनाएका छन् । रौतहटको राजपुर नगरपालिकाको मेयर अख्तर गाउँकै महमुदिया मस्जिदमा मंगलबार राती नेमाज पढ्न गरेको अवस्थामा स्थानीय २० वर्षीय युवक शेख काशिमसहित चार जना युवाहरुको समूहले कुटपिट गरेका हुन् ।

ईदमा कार्यक्रम गर्नका लागि स्थानीय युवाहरुले मेयर अख्तरसँग चन्दा सहयोग माग गरेका थिए । ईदको अघिल्लो दिन मंगलबार चन्दा माग्न स्थानीय युवाहरु जाँदा मेयर अख्तरले साँझ दिन्छु भनेका थिए तर काम विशेषले मेयर चन्दा दिन नसक्दा रातीको समयमा मस्जिदमा नेमाज पढ्न जाँदा कासिमसहितका केही युवाहरुले यही चन्दा दिनुस् भन्दा अहिले पैसा बोकेको छैन भन्ने जवाफ दिएपछि आक्रोशित बनेका युवक कासिम लगायतका व्यक्तिहरुले मेयर सकिल माथि आक्रमण गरेको थियो ।

मस्जीदमा नेमाजका लागि गएको बेला स्थानीयले आफूसँग सहयोग रकम माग गरेको र अहिले खल्तीमा पैसा नभएकोले सहयोग रकम भोलि दिन्छु भन्दा ती व्यक्तिहरुले टर्चलाइटले टाउकोले प्रहार गर्दै कुटपिट गरेको मेयर सकिलले बताए । टाउकोमा चोट लागेका उनी उपचारपछि घर फर्किएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले टाउकोमा चोट लागेका मेयरको गौर अस्पतालम सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको तथा राती नै उपचारपछि पर्वका लागि उनीहरु घर फर्किसकेको बताए । मेयर माथि आक्रमण गरेका व्यक्तिहरु फरार रहे तापनि उनीहरुको पहिचान भएको र खोजी कार्य जारी रहेको डिएसपी कार्कीले जानकारी दिए ।