यो दुखाइ कहिलेसम्म रहन्छ कुन्नि !

मुख्य समाचार विचार

— डिल्लीराज अर्याल

लेखनको प्रारम्भ त ४\५ वर्षको उमेरदेखि नै भयो। काठको पाटीमा धुलो राखेर झिंजाले र अँगारले लेख्न सुरु गरेको केहीपछि मसुरी कटवाँसका पात,बोक्रा पकाएर मसी बनाई निगालाका कलम बनाएर पनि लेखियो। अलिपछि बल्ल सामान्य खालका कलम किनेर तिनले लेख्न थालेको सम्झना आज पनि छ।

लेखकीय धारको लेखन, सिर्जनात्मक लेखनको चासो लागेर लेख्न थालेको भने १५ \ १६को उमेरपछि नै हो। हो,अरूका रचना पढेर,सुनेर जब यस्तै लेख्न जाने ! सके ! भन्ने हुन्थ्यो त्यति बेला ती सुविधा थिएनन् जुन सामान्य सुविधा लेख्नलाई आवश्यक हुन्थे। विद्यालयीय अध्ययन कालमा प्रारम्भिक चरणको लेखाइमा रहर मात्र रह्यो।

जतिबेला मेरा मनमा केही लेख्ने रहर जाग्दै थियो त्यति बेला म एकदम कच्चै थिएँ । छिटो लेख्न त सक्थें तर अक्षर राम्रा बनाएर लेख्न र निजी कल्पनामा रमाएर लेख्न सक्दिनथें। मेरा अक्षर राम्रा पनि थिएनन् । अक्षर त अहिले पनि त्यति राम्रा छैनन्, त्यतिबेलाका त झनै नराम्रा थिए । ती अक्षरबाट आफैंलाई पनि चित्त बुझ्दैनथ्यो तर…। शारदमा पढ्दा मलाई ‘छिटो त लेख्छ तर अक्षर राम्रा बनाउन सकेको छैन’ भनेर मेरा बुबासँग तत्कालीन हेडसर हरिप्रसादले भनिदिएको कुराको सम्झना मलाई अहिले पनि छ।

महाविद्यालयतिर लागेपछि पनि मेरा अक्षर धेरै समय उस्तै रहे। कहिलेकहीं राम्रो कलम, राम्रो कागजमा ढिलो लेख्दा भने अरूलाई राम्रा नलागे पनि आफूलाई चित्त बुझ्ने हुन्थ्यो र सोच्थें— कागज, कलम राम्रो नभएर हो रहेछ अक्षर राम्रा नभएको ! नत्र त राम्रा लेख्न सक्दो रहेँछु । अहिले भने मैले बुझेको छु त्यो एउटा कला हो जो सबैसँग उस्तै उत्तिकै प्रभावकारी रूपमा हुँदोरहेनछ । हो, केही प्रभाव भने कागज कलमको पनि हुने रहेछ।

त्यतिबेलै अर्थात् महाविद्यालयमा अध्ययन गर्ने ताका नै हो मैले रश्मिरथी खण्डकाव्य (हिन्दी) को नेपालीमा अनुवाद गर्न सुरु गरेको। जानेर होइन, पुस्तकको प्रभावले गर्दा रहर जागेकोले जान्ने भएर। सीप नभएरै पनि त्यसै रहरै रहरमा भासले लेखेका संस्कृतका ‘स्वप्न वासवदत्ता’ र ‘प्रतिमा नाटक’को संस्कृतमै टीका र नेपालीमा अनुवाद पनि गरेको थिएँ । पछि प्रेमचन्दका केही कथाहरूको अनुवाद पनि गरेँ तिनको सामुदायिक रेडियोहरूबाट वाचन पनि भएको थियो ।

म आज पनि आफूलाई केटाकेटी नै ठान्छु भने तिनताका त झन् एकदमै केटाकेटी थिएँ । मैले अनुवादको नियम पनि जानेको थिइन, केवल रहरमा मात्र काम थालेको थिएँ। त्यसैले सातौँ आठौं सर्गसम्म अनुवादै गरे पनि अलिपछि त आफ्नै जस्तो गरी भावानुवाद भन्न पनि नमिल्ने गरी पो लेख्दै गएँछु। यसो गर्न पाइन्न भन्ने पनि जानकारी भएन र कसैसँग सोध्नेतिर पनि ध्यान गएन।

त्यतिबेलाको त्यो रहर सम्झेर अहिले आफैं छक्क पर्छु। अहिले पनि त्यतिबेलाका दुईवटा कापी भेटिएका छन् । कहिलेकाहीं यसो हेर्छु र सोच्छु नजानेका काममा अग्रसर भएर मैले यो मिहिनेत खेरै फालें ! त्यो अवस्था, विद्यार्थी जीवन, परदेशको बसाइ, कमाइ छैन जतिबेला पनि पैसाको अभाव हुन्थ्यो । पुस्तक त बरू किन्न पर्दैनथ्यो । दाइलाई किनेकाले केही काम दिन्थ्यो, केही पुस्तकालयबाट पाइन्थ्यो तर कापी, कलम, मसी आफैंले जुटाउनुपर्थ्यो। त्यो अभावका कारण कापीका तल माथिका खाली भाग, मार्जिन छोडेकामा पनि लेखेर पुर्याउनेमा ध्यान जान्थ्यो। त्यही केटाकेटी बेलाको रश्मिरथीको अनुवाद नामको खेस्राको आठ सर्ग मसँग अहिले पनि रहेछ, छ।

अहो ! यो रचनाको मोह ! यो लेखनको मोह ! यो- भास, कालिदास, लक्ष्मीप्रसाद बन्ने मोह ! अझ भनौँ भित्र कतै जीवित रहेको, जाग्रत भएको जस्तो लाग्ने सुखद सपना ! मलाई त्यति बेला पनि थाहा थियो म त्यो बन्न सक्दिन । आज पनि थाहा छ म त्यत्तिको बन्न सक्दिन तर पनि लेख्ने मोह भने पालेकै छु । लेख्न छोडेको छैन ।

मेरो पहिलो पुस्तक ‘नेपालमै जान्छु म’ मा दुई शब्द लेख्ने क्रममा प्रा. गोपीकृष्ण शर्माले लेखिदिएका पङ्क्ति “यी कविताहरू पढ्दा कहिले लेखनाथ, कहिले धरणीधर, कहिले माधव प्रसाद घिमिरेको सम्झना आउँछ” देखेर, पढेर मलाई साँच्चै लेखक भइएछ भन्ने लागेको थियो तर त्यो प्रकाशित भएको ४०\४२ वर्ष पछि पनि म अझै राम्रो लेखक बन्न सकेको छैन, प्रयासरत नै छु ।

यसबीच मैले अध्यापन, पत्रकारिता, कृषि, लेखन लगायतका विविध क्षेत्रमा धेरैथोरै काम गरें तर लेखनलाई निरन्तरता दिएकै छु तैपनि म एकोहोरिन सकिन । म सधैं विभाजित भइरहें, बाँडिइरहें ।
मित्रहरू भन्छन्- ‘एउटै विधा केन्द्रित भएर लेख । एउटा विधामा केन्द्रित नभएसम्म स्थापित हुन सकिन्न । नाम कमाउन सकिन्न । प्रतिष्ठा, पुरस्कारका लागि पनि यो आवश्यक छ ।’ आफन्तहरू, शुभेच्छुहरू, मित्रहरूको सोच राम्रो होला, सल्लाह उचित होला तर मेरो सोच भन्दा अलि भिन्न छ त्यसैले म एक विधामा केन्द्रित हुने सल्लाहमा सामेल भइन । उनीहरू आज पनि भन्छन् – ‘तैंले ठूलो मौका गुमाउँदैछस् ।’

म फेरि पनि केटाकेटी नै रहेँ । मैले त्यस्ता अवसर गुमाएँ तर मलाई ती सबै कुराले कहिल्यै दुखाएनन् जति आज देशभित्र बनेको वातावरण, मान्छेहरूको सोच, व्यवहार आदिले दुखाउने गरेका छन्।
संस्कृतमा चलनचल्तीमा पाइने एउटा उत्तर छ- “ तथा न बाधते राजन् यथा बाधति बाधते” शीतले कत्तिको पीडा दिएको छ भनेर सोध्दा एकजना विद्वानले भनेका थिए रे बाधतेला बाधति भनेको सुनेर जति बाधा दिएको छ त्यत्ति दिएको छैन । हो, आजको मेरो दुखाइ पनि त्यस्तै खालको छ।जुन कुरालाई महत्त्व दिनुपर्ने हो ख्याल गर्नु पर्ने हो तिनलाई बेवास्ता गर्ने जुन परम्परा बसेको छ त्यसले सबै भन्दा बढी पिरोलेको छ।

यसले कुनै दिन हामीलाई डुबाउने छ भन्ने कुराको चेत कहिल्यै आउने भएन हामी खाली नयाँ नामका पछि लाग्ने मान्छेहरूलाई । पुरानामा भएका राम्रा कुरा थाहा नपाउने, पाउन नखोज्नेहरूलाई । यो दुखाइ कहिलेसम्म रहन्छ कुन्नि ! सञ्चो हुने हो कि नहुने हो कुन्नि !