यार्सा पाटनमै घुम्ती स्वास्थ्य शिविर !

पर्यटन मुख्य समाचार

डोल्पा, २० जेठ, डोल्पाका यार्सापाटनहरुमा यार्सा संकलकहरुको अकालमै मृत्यु हुन थालेपछि यो वर्ष एक दर्जन यार्सा पाटनहरुमा चिकित्सकसहितको घुम्ती स्वास्थ्य शिविर राखिएको छ । प्रत्येक वर्ष यार्सागुम्बाको सिजनमा पाटनहरुमा दर्जनौ मानिसहरुले औषधी उपचारको अभावमा अकालमा ज्यान गुमाउन थालेपछि कर्णाली प्रदेश सरकारले यो वर्षबाट यार्सा पाटनमै औषधी र चिकित्सकसहितको घुम्ती स्वास्थ्य शिविरको ब्यवस्था गरेको हो ।

खानपान नमिलेर अत्यधिक जाडो र लेक लागेर अकालमा मानसिहरुको पाटनमा मृत्यु हुन थालेको छ । अकालमा कोही कसैले औषधी उपचारको अभावमा मृत्युवरण गर्न नपरोस् भनेर कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा ब्यवस्थापनमा एक महिना लामो समयसम्मका लागि यार्सा पाटनमै स्वास्थ्य शिविर राखिएको हो ।

डोल्पाका धेरै यार्सासंकलहरुको अस्थायी मानव बस्ती भएका यार्सा पाटनहरुमा सबैलाई समय र दुरीको हिसाबले पायक पर्ने गरी नाउरपानी, शिशोल, सागर, फूलबारी, जगदुल्ला, ग्यालवारा, बागडाँडा, र क्याङजुरु लगायतका ८ ओटा यार्सा पाटनहरुमा स्वास्थ्य शिविर राखिएको निमित्त स्वास्थ्य प्रमुख रनलाल कुलालले बताए ।

कुलालका अनुसार स्वास्थ्य शिविर राखिएका पाटन क्षेत्रमा एक जना हेल्थ असिस्टेन्ट राखेर आवश्यक पर्ने सबै औषधीसहित स्वास्थ्य शिविरको ब्यवस्थापन गरिएको छ । घुम्ती स्वास्थ्य शिविर जेठ १५ देखि ३० गतेसम्मका लागि राखिएको हो ।

सत्तरी प्रकारका औषधीसहित सम्बन्धित पाटन क्षेत्रमा पठाउने ढुवानी खर्चसमेत प्रदेश सामाजिक मन्त्रालयले ब्यवस्थापन गरेको माझफाल क्षेत्रका यार्सा पाटनमा खटिएका अहेव हरिबहादुर रोकायाले बताए ।

यार्सागुम्बा टिप्दा टिप्दै विमारी भइहाले पनि पाल नजिकै शिविर बसेकाले औषधी उपचारमा राहत मिलेको ठुलीभेरी नगरपालिका ६ का राजेन्द्र रोकायाले बताए ।
खानपानको तालमेल नमिल्दा चिसो, ड्राइफुड खानाले र लेक लाग्नाले मानिसहरु विरामी पर्ने गरेको अहेव रोकायले बताए ।

पाटन क्षेत्रहरुमा हुने सबै खाले विमारीको उपचार हुन नसक्ने भए पनि उपचारकै अभावमा मृत्यु हुने दरमा कमि ल्याउन सकिने अहेव हरिबहादुर रोकायाले बताए ।

तस्विर: फायल