विप्लव समूह परित्याग गर्दै पूर्व सांसद राई नेकपामा प्रवेश

मुख्य समाचार राजनीति विषेश समाचार

काठमाडौं, १९ जेठ, २०७६ । पूर्व सांसद तथा विप्लव समूहका नेता पदम राई नेकपामा प्रवेश गरेका छन् । नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा आइतबार आयोजित एक विशेष समारोहकाबीच राई नेकपा प्रवेश गरेका हुन् ।

राईलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरे । विप्लव समूहले लिएको बाटो गन्तव्यमा पुग्ने बाटो नभएको तर्क गर्दै अध्यक्ष प्रचण्डले एक दिन विप्लव पनि यही समूहमा आएर जोडिने दाबी गरे । जनयुद्धकाल र अहिलेको परिस्थिति फरक भएको तर्क गर्दै अध्यक्ष प्रचण्डले आफूले लडेर ल्याएका उपलब्धिलाई रक्षा गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

प्रचण्डले समृद्धिको परिणाम जति चाँडो जनतालाई दिन सक्यो त्यति नै कम्युनिष्ट आन्दोलन अझ सुदृढ हुने बताए । ‘कम्युनिष्ट पार्टीकै नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पुरा गर्ने संभावना छ । नेपालमा मात्र शान्तिपूर्ण रुपले समृद्धि कायम गरेर समाजवादमा जाने सम्भावना पैदा भएको छ,’ उनले भने, ‘यो संभावना सजिलै पैदा भएको होइन । यो लामो संघर्ष र बलिदानको श्रृंखलाको बीचबाट नै अहिले नेपालमा कम्युनिष्ट आन्दोलन लोकप्रिय भयो । ’

प्रचण्डले अहिलेको नेपालको परिस्थिति नितान्त भिन्न परिस्थिति भएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘पार्टीले समाजवादको उद्देश्य र आधार तयार गर्नका लागि नीति तथा कार्यक्रम र बजेटमा उत्पीडित जाति र क्षेत्रलाई सम्बोधन गर्ने जमार्को गरेका छौं ।’ भने जस्तो पूर्ण भन्न नसकिए पनि सामाजिक सुरक्षा र सामाजिक न्याय सहितको विकासको नयाँ मोडल तिर जाने र समाजवादको तयारी गर्न खोजेको उनको भनाई थियो ।