महिलासँग अवैध सम्बन्ध राख्ने प्रहरी हवलदार गाउँलेद्वारा समातिए

ट्राफिक/प्रहरी मुख्य समाचार समाज

सप्तरी, १८ जेठ, २०७६ । एक जना ग्रामीण महिलासँग अवैध सम्बन्ध बनाउँदै गरेका प्रहरी हबलदारलाई गाउँलेहरुले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् । घटना सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ को.बर्साईनको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबलदार रामशंकर यादवलाई गाउँलेहरुले समातेर प्रहरी चौकी बर्साईनमा बुझाएका हुन् ।

जेठ १५ गते नै यादवलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइए पनि प्रहरीबाट घटनाको मिलापत्र गर्ने प्रयास भइरहेको गाउँलेहरुको आरोप छ । सो कार्यमा प्रहरी चौकी बर्साईनका इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक रामकुमार यादवसमेत प्रत्यक्ष संलग्न रहेको स्थानीयहरुले आरोप लगाए ।

स्थानीयहरुका अनुसार २५ वर्षीय एक स्थानीय महिलाको घरमा रातिको समयमा नियमित आउने गरेको र रातभर ती महिलासँगै बस्ने गरेका थिए । अपरिचित व्यक्ति नियमित जसो गाउँका एकै घरमा देखिन थालेपछि स्थानीयहरुलाई शंका लागेको र एक रात घेराहाली पक्राउ गर्न खोज्दा ती व्यक्ति मोटरसाईकल छाडेर भाग्न सफल भएका थिए । को.१८ प. ७९० नम्बरको मोटरसाईकल स्थानीयहरुले नियन्त्रणमा लिएपछि बिहान आफ्नो गाडी लिन आएका प्रहरी हबलदार रामशंकर यादवलाई स्थानीयहरुले पक्राउ गरी प्रहरीमा बुझाएका हुन् ।