मन पोलिरहेछ — डिल्लीराज अर्याल

मुख्य समाचार विचार

आज आफ्नै नातिले अत्यन्त गम्भीर भएर मसँग सोध्यो– बुबा चामल भनेको के हो ? चामल कसले बनाउँछ ? कहाँ बनाउँछन् ? आदि आदि ।

नातिको जिज्ञासा मेटाउन मैले सबै प्रश्नको उत्तर त दिएँ, चित्त बुझाइ दिएँ तर त्यसपछि मेरा मनमा खेलेका कुराले भने म गम्भीर भएँ । त्यहीँ बसेर देश र आउँदो पुस्ताको भविष्यका बारेमा सोच्न थालेँ। सोच्दै गएँ । मन त्यसै त्यसै छटपटाइरह्यो । उता नाति भने निश्चिन्त भएर खेलिरह्यो ।

म पूर्ण रूपले किसान बाबुआमाको छोरो। लामो समय म आफैं पनि कृषिमा संलग्न रहें। खेतीपातीमा मेरो अहिले पनि रुचि छ। घर वरिपरि र गमलामै भए पनि तरकारी, फूल रोप्छु, तिनको रेखदेख गर्छु र आनन्द लिन्छु, सन्तुष्ट हुन्छु । मेरा छोराहरूले पनि धेरैथोरै त्यसको परिचय पाए। त्यसलाई नजिकबाट हेरे, देखे तर तेस्रो पुस्तामा आइपुग्दा कति फरक अवस्थामा आइएछ !

आज नातिले मलाई चामल के हो ? भनेर सोध्यो । के गर्छन् ? भनेर सोध्यो । कहाँबाट ल्याउँछन् भनेर सोध्यो । आज चामलका बारेमा सोध्यो भोलि। पर्सी गहुँ, मकैका बारेमा । अनि… बारेमा पनि । म किसानको छोरो ऊ, किसानको नाति, पनाति । आज धान चामल नचिन्ने हुँदैछ त्यसका बारेमा सोध्दैछ । भोलि पनाति, जनाति के सोध्लान् ? कसरी परिचित होलान् अन्न तरकारी र तिनको उत्पादन प्रकृयाबाट? कसरी खेतबारीका श्रमसित परिचित होलान्? कसरी उत्पादन होला ?…।

जब किसानका सन्ततीहरू नै अन्न र तिनको उत्पादनबाट अपरिचित हुन थाल्छन् तब देशको हालत के होला? जनताको हालत के होला ? आज चामलका बारेमा सोध्नेले भोलि धानकाबारेमा सोध्नेछ तर जब उसलाई पनि उसका …ले सोध्न थाल्नेछन् त्यतिबेला ऊ, उसका सन्ततिहरू धान चामल र तरकारी र तिनका उत्पादनका बारेमा बताउन सक्ने रहलान्…?

हामी कता जाँदैछौँ ? हाम्रो भविष्य कस्तो हुने होला? हाम्रो अर्थात् हाम्रा सन्ततिको भविष्य? तिनले अन्न कहाँबाट ल्याएर खालान्? पानी कहाँ पाउलान् ? बस्ने आवास बनाउने ठाउँ कहाँ पाउलान् ? अरू त अरू भए तिनलाई त हावा, घाम, जून जस्ता कुरा पनि भाग लाउनु पर्ने हुन्छ कि ! अनि ? कठै तिनको जीवन ?

म यस्तै कल्पनामा हराउँदा हराउँदै पुर्खाहरूको सोचतिर ध्यान दिन्छु । तिनले प्रकृतिको संरक्षण गर्न बनाएका नीति नियम, परम्परा, संस्कृतिका विविध पक्षतिर सोच पुर्याउँछु। तिनले भन्ने गरेको ‘उत्तम खेती मध्यम ब्यापार, निर्घणी चाकरी’ सम्झन्छु र तिनको विवेचन गर्न थाल्छु ।

पृथ्वी नारायणको दिव्योपदेशका ‘खानीका विषयमा’ ‘खेती योग्य जमिनका विषयमा, कपडा उत्पादनका विषयमा, ब्यापार र ब्यापारीका विषयमा उनका सोच,दृष्टिकोण र भनाइ सम्झन्छु। लाग्छ – उनले कति पछिसम्मका कुरा भनेका रहेछन्, सोचेका रहेछन्। यी जम्मै कुरा ध्वस्त पारेर नयाँ नेपाल बनाउन तम्सनेहरूले त्यता ध्यान किन दिन्थे ? भोलिको कुरा किन सोच्थे र सबैका कुरा कहाँ सोच्थे ? तिनको नजर त खालि त्यही कुर्सीमा, त्यही शानशौकतमा छ। …मा छ । भोलिकाले जे सुकै गरून् ।’

नाति उत्तर पाएर सन्तुष्ट हुन्छ म सुदूर भविष्यको कल्पना गरेर अत्यन्त भयभीत हुन्छु । भावी पुस्ताको भविष्य बारेको चिन्ताले मलाई ब्यग्र बनाउँछ । त्यो दूरदर्शिता आजका नेतामा खै ? देशको सुदूर भविष्यबारेको सोच खै ? भावी पुस्ताको भविष्यबारे चिन्ता, सोच, योजनाहरू खै ?
मैले पटक पटक लेखेको पनि छु । अझ हाम्रा सन्ततिहरू नदी, खोला कस्ता हुन्छन् ? जल कस्तो हुन्छ ? भनेर सोध्ने र उदाहरण दिन नजिकै पानी नपाइने अवस्था आउने सन्त्रासबाट कम्पित छु म तर हामी ? हाम्रा अगुवा ?

हामीले हाम्रा सन्ततिको र देशको भविष्यको चिन्ता नगर्ने, त्यस विषयमा सोचेर नचल्ने हो भने तिनलाई कसरी माया गरेको हुन्छ ? कसरी अभिभावकको, नागरिको दायित्त्व निर्वाह गरेको हुन्छ ? हामीले कुनै जिम्मेवारी बोध नगरी, त्यसको भूमिका निर्वाह नगरी कसरी तिनका बाबुआमा, अभिभावक वा देशका नागरिक बनेर दङ्ग पर्न मिल्छ तर पर्ने गरेका छौं? यस्तै यस्ता थुप्रै कुराले अहिलेसम्म पनि मेरो मन पोलिरहेछ, तबसम्म पोलिरहनेछ जबसम्म यसबारे हाम्रो सोच बन्दैन, योजना बन्दैन…।