वर्षेनी लाखौँको खोप खेर जान्छ, उता बालबालिका भने खाेप नपाएरै मर्छन् !

मुख्य समाचार स्वास्थ्य

काठमाडौँ, १८ जेठ, २०७६ । अझै पनि २२ प्रतिशत बालबालिकाले खाेपकाे सबै मात्रा पुरा गर्दैनन् । खाेपकाे पहुँचमा बालबालिकाकाे संख्या बढ्दाे छ तर मात्रा पुरा गर्नेकाे संख्या भने घट्दाे छ । सरकारले क्षयराेग, पाेलियाे, दादुरा लगायत ११ वटा राेग विरुद्धका खाेपहरु नि:शुल्क उपलब्ध गराउँछ । यसका लागि सरकारले वर्षेनी साढे ३ अर्ब बढी रकम खर्च गर्छ । तर के ती सबै खाेप प्रयाेग भएका छन् हाेला त ? वर्षेनी ठुलाे संख्यामा खाेपहरु खेर जाने गरेका छन् ।

महालेखा परीक्षककाे कार्यालयले केही समय अघि सार्वजनिक गरेकाे प्रतिवेदनमा आर्थिक वर्ष २०७४/७५ मा ४६ लाख ३७ हजार खाेप खेर गएकाे उल्लेख छ । सबैभन्दा बढी बीसीजी खाेप १९ लाख खेर गएका छन् ।
यसलाई तथ्यांकमा हेराैः


महालेखा परीक्षककाे कार्यालयको तथ्याङ्क

महालेखा परीक्षककाे कार्यालयले साे संख्यामा खाेप खेर गएकाे बताए पनि बाल स्वास्थ्य तथा खाेप सेवा शाखाका प्रमुख डा. झलक गाैतमले त्यस्तो नरहेकाे बताए । उनले भने, महालेखा परीक्षकले निकालेकाे संख्या हाम्राे मापदण्ड अनुसार छैन । त्यसैले खाेप खेर गएकाे संख्या धेरै आएकाे हाे ।

बाल स्वास्थ्य तथा खाेप सेवा शाखाका अनुसार आर्थिक वर्ष २०७४/७५ बीसीजी ७९ दशमलव ९ प्रतिशत खेर गएका छन् । यस्तै, दादुरा रुबेला ४८ दशमलव ९ प्रतिशत, जापानिज इन्सेफ्लाइटिस ४४ दशमलव २ प्रतिशत, टिडि (टिटानस) ३२ दशमलव ९ प्रतिशत, ओपिभी (पाेलियाे) २२ दशमलव १ प्रतिशत, पेन्टा २१ दशमलव ३ प्रतिशत, पिसिभि (निमाेनिया) १० दशमलव ७ प्रतिशत खेर गएकाे शाखाकाे तथ्यांक छ ।

सरकारले मुलुकभर १६ हजार बढी खाेप केन्द्रबाट वर्षेनी ६ लाख २३ हजार बालबालिकालाई खाेपाउँछन् । बाल स्वास्थ्य तथा खाेप सेवा शाखाका अनुसार खाेप केन्द्रमा एउटा सेसनमा ४ देखि ५ जना बालबालिकालाई मात्र खाेप लगाउन आउने भएकाले अन्य खाेप खेर जाने गरेकाे डा. गाैतमकाे भनाई छ । खाेप खेर जाने संख्यालाई घटाउन सुक्ष्म याेजना बनाइ अघि बढेकाे उनले बताए ।

अझै पनि एक प्रतिशत बालबालिकाले कुनै पनि प्रकारका खाेप पाएका छैनन् । तर वर्षेनी ठुलाे संख्यामा खाेपहरु भने खेर गइरहेका छन् । यसले मुलुककाे अर्थतन्त्रलाई त प्रभाव पारेकाे छ नै बालबालिकाकाे स्वास्थ्यमा पनि खेलवाड भइरहेकाे छ ।