यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु

मुख्य समाचार विषेश समाचार

डोल्पा, १८ जेठ, २०७६ । बहुमुल्य जडीबुटी यार्सागुम्बा टिप्न डोल्पाका विभिन्न पाटनहरुमा गएका यार्सासंकलकहरुको अकालमा ज्यान जान थालेको छ । अत्यधिक जाडो र खानपान नमिल्दा यार्सासंलकहरुले अकालमा ज्यान गुमाउने गरेका छन् ।

बिहिबार र शनिबार गरेर जाजरकोट जिल्ला बारेकोट गाउँपालिका १ का १८ वर्षीय कृष्ण विक र जाजरकोटकै २३ वर्षीय रमेश चलाउनेले अकालमा ज्यान गुमाएका छन् । शे फोक्सुण्डो गाउँपालिका अन्तरगत पर्ने रमाना भन्ने लेकमा कृष्ण विक र प्यारीभोक्पामा भन्ने लेकमा रमेश चलाउनेको शनिबार बिहान मृत्यु भएको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको कार्यालय सुलिगाडका सूचना अधिकारी छत्र खड्काले जानकारी दिए ।

यसैगरी ठुलीभेरी नगरपालिका ११ रह गाउँकी ३८ वर्षीया बुद्दी कार्कीको दुना यार्सापाटनमा यार्सा टिपिरहेको अवस्थामा जेठ १६ गते भीरबाट लडेर मृत्यु भएको थियो ।

यस अघि डोल्पाका यार्सापाटन आधिकारिक रुपमा खुला हुनु अघि चोरी गर्न पाटन पुगेका जुम्ला जिल्ला घर भएका दुई जना यार्सासंकलकको मृत्यु भएको थियो । यो वर्ष डोल्पामा यार्सा टिप्न गएर मृत्यु हुनेको संख्या पाँच पुगिसकेको छ ।