पदक विजेता खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने

खेलकुद प्रदेश मुख्य समाचार

पोखरा, १८ जेठ, २०७६ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई गण्डकी प्रदेश सरकारले नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराको प्रस्तावमा गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गर्दै सम्मान गर्ने निर्णय गरेको हो ।

नेपालगन्जमा गत चैत–वैशाख सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले आर्चरीसहित ३५ खेलमा १८ स्वर्ण, २५ रजत र ५० कास्य पदक जित्दै पाँचौ स्थानमा रहेर नवौं संस्करण गण्डकी प्रदेशमा आयोजना गर्ने जिम्मेवारीसहित फर्किएको थियो ।

गण्डकी प्रदेशले व्यक्तिगत तथा टिम गेममा गरी कुल २ सय ३ पदक जितेको थियो । व्यक्तिगत र टिम गेममा गरी स्वर्ण पदक जित्ने खेलाडीको संख्या भने ४० छ ।

त्यसैगरी रजत पदक जित्ने खेलाडीमा ५७ जना र कास्य पदक जित्ने खेलाडी भने १ सय ६ जना छन् । उनीहरुलाई नगदसहित सम्मान गर्ने प्रस्तावलाई गण्डकी प्रदेश सरकारले निर्णय गरेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।

गण्डकी प्रदेशबाट विभिन्न खेलमा ५ सय ६१ जना खेलाडी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि थिए ।

व्यक्तिगत तर्फ स्वर्ण पदक जित्ने खेलाडीलाई नगद १० हजार प्रदान गरिने छ । रजत पदक जित्नेलाई ७ हजार र कास्य पदक जित्ने खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने छ । यसैगरी टिम गेममा स्वर्ण पदक जित्नेलाई नगद ७ हजार, रजतलाई ५ हजार र कास्य पदक जित्ने खेलाडीलाई ३ हजार रुपैयाँबाट सम्मानित गरिने उनले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले खेलाडीलाई नगदसहित सम्मान गर्न ११ लाख ८५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।