पक्राउ गरिएका अभियन्ताहरुलाई विना शर्त रिहाई गर्नुपर्ने माग

मुख्य समाचार समाज

काठमाडौं, १७ जेठ, २०७६ । आफ्ना अभियन्ताहरु ज्ञानेन्द्र बहादुर शाही र भीम बहादुर शाहीलगायतलाई सुर्खेतबाट पक्राउ गरिएको भन्दै नेपालका लागि नेपाली अभियानले विरोध जनाएको छ । पक्राउ परेका अभियन्ताहरुलाई विना शर्त तुरुन्त रिहाई गर्नुपर्ने माग गरेको छ ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अभियानले यस्तो माग गरेको हो । अभियानका अभियन्ता एवम् वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले अभियन्ताहरुलाई पक्राउ गरिएकोमा आक्रोश पौख्दै यो नागरिकहरुमाथिको आक्रमण भएको आरोप लगाए ।

उनले ज्ञानेन्द्र शाहीमाथि भएको सांघातिक प्रहार र झुठा मुद्दाको भत्र्सनासमेत गरे । त्यस्तै, उनले पक्राउ गरिएका अभियन्ताहरुलाई तत्काल रिहाई गरी उपचार गर्नुपर्ने माग राखे । भण्डारीले भने, ‘उहाँहरुको स्वास्थ्य अवस्था गम्भिर छ, उहाँहरुलाई विना शर्त रिहाई गरि उपचार गर्नुपर्छ । अन्यथा, केही भयो भने यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ ।’

कार्यक्रममा अर्का अभियन्ता एवम् वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सरकारले पछिल्लो समय आफ्नो विवेक गुमाएर कम्युनिष्टको असली रुप देखाएको टिप्पणी गरे । सरकार शान्तिपूर्ण सभा तथा कार्यक्रमहरु विथोल्न उद्दत रहेको पनि उनको आरोप छ ।