हिंसाबारे खुल्न सक्दैनन् मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला

मनोरञ्जन मुख्य समाचार

समाजले आफ्नो पेशालाई गलत तरिकाले बुझ्ने गरेको गुनासो
काठमाडौँ, १५ जेठ, २०७६ । ‘डान्स बारमा काम गर्ने केटी हेर कति नराम्री भन्छ, गेस्टहरु पनि जाम नाइटमा यति–यति दिन्छु भन्छ । कति मन दुख्छ हामीलाई । हामी नाइटमा हिड्ने केटी होइन ।’

यो नमिठो अनुभव स्याङ्जाकी सोनु थापाको हो । वैवाहिक सम्बन्ध राम्रो नभएपछि जीवन गुजाराका लागि उनी यो क्षेत्रमा लागिन् । उनको सात वर्षीय छोरा पनि छ । भारत माइती भएकी उनी प्रेम विवाहपछि नेपाल आएकी थिइन् । श्रीमानसँगको सम्बन्ध दिगो नभएपछि छोराको लालनपालनका लागि डान्स बारमा काम गर्न बाध्यताले उनलाई डोर्यायो । आफूले गरेको कामकै कारण एक वर्षमा चार पटकसम्म डेरा सर्नु परेको नमिठो अनुभव गरिसकेकी छन् उनले ।

उनी भन्छिन, ‘रुम हेर्न जाँदा तिमीहरु नाइटमा काम गर्नेलाई हामी रुम दिन्नौं भन्छ । त हामी कहाँ जाने रु जे काम पनि सानो ठुलो होइन एउटै हो भन्छ भने किन हामीलाई हेला गर्छ रु’ कुराकानीका क्रममा सजल आँखाका साथ भावुक हुँदै भक्कानिदैं उनले थपिन्, ‘हामीलाई कति मन दुख्छ के बहिनी । सोच्दा पनि रुन मन लाग्छ । सोच अलग गरेमा हामी पनि शीर उठाएर अगाडि बढ्न सक्छौ ।’

उनको जस्तै पीडा पोखराकी सीमा छन्त्याल गुरुङको पनि छ । उनले मनोरञ्जन क्षेत्रमा काम गर्न थालेको १० वर्ष हुन लाग्यो । समाजले नराम्रो भन्ने, हेप्ने, बस्नलाई घरभाडामा नपाउने जस्ता समस्या उनले अहिले पनि झेलिरहेकी छिन् । ‘हामी रेष्टुरेण्टमा काम गर्नेलाई इज्जत गर्दै न के । घरबेटीले पनि कोठा भाडामा दिदैन हामीलाई । हाम्रो काम भनेको अबेला जाने हुन्छ । कहाँ गएर आको के(के न गरेर आको भनेर एकदम हेप्छ छिमेकी टोलले’ उनले भनिन् ।

काम गर्ने क्रममा आफूले झेल्नुपरेको अनेकन समस्या तथा यौनजन्य दुर्व्यवहारको सामना गर्नुपरेको उनी बताउँछिन् । तर यस्ता दुर्व्यवहारबाट बच्न आफू पनि सही हुनुपर्ने उनको भनाई छ ।

उनले एउटा घटना सुनाइन् , ‘वेटरको काम गर्ने बेला एक जना ग्राहकले मलाई जबरजस्ती नै गर्न खोज्यो । तिमीले यस्तो जबरजस्ती गर्ने होइन, मलाई इच्छा छैन भने तिमी किन मलाई जबरजस्ती गर्ने । ठिक छ म यहाँबाट हाम्फेर मर्छु । तर सबैले सुन्ने गरेर फलानो मान्छेले मलाई यस्तो गर्यो भनेर आवाज उठाउँछु अनि म मरेर गएपनि सुन्नेले त सुन्छन् नी भनेपछि उसले मलाई छोड्यो ।’

सोनु र सीमाको मात्रै हैन मनोरञ्जन क्षेत्रमा काम गर्ने अधिकांश महिलाको यो साझा समस्या हो । अझ उदेकलाग्दो कुरा त के भने मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकको यकिन तथ्याङ्क सरकारसँग छैन । सन् २००८ मा शक्ति समूहले गरेको एक अध्ययन अनुसार करीब ६० हजार जना रहेको पाइएको थियो । मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला भन्ने बित्तिकै धेरैले उनीहरुलाई यौनकर्मीका रुपमा बुझ्ने गरेको छ । स्वतन्त्र अभियान नेपालकी कार्यालय प्रमुख ऋतु भट्टराई यही कारणले उनीहरु बाहिर खुल्न हिच्किचाउने गरेको बताउँछिन् । ‘८० प्रतिशत महिलाहरु सेक्स वर्कर होइनन्, बरु उनीहरु भिक्टिम चाहिं हुन्’, भट्टराई भन्नुहुन्छ, ‘यस क्षेत्रमा काम गर्ने महिलाहरु न्यायमा जानै चाहदैन्न । त्यहाँ जानु भनेको हामी अझ पीडित हुनु हो भन्ने उनीहरुको बुझाई छ ।’

समाजले गर्ने व्यवहारका कारण खुल्न नसक्दा यौनजन्य दुर्व्यवहार र हिंसा सहनु उनीहरुको बाध्यता बनेको छ । भट्टराई भन्छिन्, ‘यो नराम्रो पेशा हो । यहाँ काम गर्ने मानिस तल्लो तहको हो भन्ने जुन समाजको धारणा छ, त्यसले गर्दा उनीहरु खुल्न नै चाहदैनन् ।’ यही कारण उनीहरु विभिन्न दुर्व्यवहार र हिंसा सहन बाध्य भएको उहाँको भनाई छ । यसको लागि सरकारले स्पष्ट कानून निर्माण गर्न आवश्यक रहेको उहा“ले बताउनुभयो । ‘सरकारले पनि भन्नुपर्यो यो सेक्स वर्क होइन, यहाँ काम गर्ने श्रमिकहरु हुन् भनेर कानून बनाउन पर्यो अनि अुनगमन गर्नुपर्यो’ भट्टराईले भनिन् ।

मनोरञ्जन क्षेत्रमा काम गर्ने सबै महिला यौनजन्य पेशासँग सम्बन्धित हुँदैनन् । तर समाजले यस क्षेत्रमा काम गर्ने सबैलाई एकै नजरबाट हेर्ने तथा गलत तरिकारले बुझ्ने गरेको छ । काम आफैंमा सानो–ठूलो नभए पनि मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई हेर्ने समाजको दृष्टिकोण सकारात्मक छैन । यही कारण आफ्नो काम अनि परिचय लुकाउन बाध्य भएको उनीहरुको गुनासो छ । समाजमा खुल्न नसक्ने भएकाले उनीहरु माथि यौनजन्य दुर्व्यवहार र हिंसा पनि उत्तिकै हुने गरेको छ ।