चियोभञ्ज्याङदेखि आरुघाटसम्म अप्टिकल फाइबरले जोडिदै

मुख्य समाचार विषेश समाचार सूचना प्रविधि

काठमाडौँ, ७ जेठ, २०७६ । नेपालको पूर्व पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिम गोरखाको आरुघाटसम्म अप्टिकल फाइबरले जोडिने भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत कुल २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइबर नेटवर्कले जोडिने भएको हो ।

मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग (अप्टिकल फाइबर नेटवर्क) निर्माणको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार धादिङको गल्छीबाट गरे । प्रधानमन्त्रीले साबेलले भुँइ खनेर सो महाअभियानको औपचारिक शुभारम्भ गरेका हुन् । सोमबार नै प्रदेश १ अन्तर्गत धनकुटाको हिलेमा र प्रदेश ३ अन्तर्गत सिन्धुलीको खुर्कोटमा पनि मध्य पहाडी लोकमार्ग सूचना महामार्ग निर्माण कार्यको शुभारम्भ गरिएको छ ।

मोवाइल, ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेट लगायतका अत्याधुनिक सञ्चार सेवाहरुलाई उच्च क्षमता र गुणस्तरयुक्त बनाउन र मुलुकभर भरपर्दो र दीगो सञ्चार सेवा उपलब्ध गराउनका लागि सो अप्टिकल फाइबर नेटवर्क निर्माण थालिएको हो ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत प्रदेश १, २ र ३ मा पर्ने विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिएको छ । यसका लागि टेलिकमले ५ वटा कम्पनीसँग निर्माण सम्झौता गरिसकेको छ । गत मार्च १२ देखि २२ सम्म विभिन्न चरणमा सम्पन्न सम्झौताअनुसार प्रदेश १ को ५ सय ९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्ससले निर्माण गर्नेछ । यसैगरी प्रदेश २ को १ हजार २८ किलोमिटरको लागि आरोग्य कन्स्ट्रक्सन नेपाल र चाइना रेलवेको ज्वाइन्ट भेन्चरमा निर्माण हुनेछ । यता प्रदेश ३ को ५ सय ५५ किलोमिटरको लागि फाइबर बिछ्याउने काम हङकङको सीसीएसआई (चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल) सँग सम्झौता भएको छ ।

त्यस्तै गरी डिडब्लुडिएम इक्विपमेन्टका लागि हङकङको सीसीएसआईसँग सम्झौता भएको टेलिकमले जनाएको छ । नेटवर्ककालागि आवश्यक पर्ने राउटर इक्विपमेन्टका लागि सिंगापुरको सिटियस कम्युनिकेसन्ससँग सम्झौता भएको छ ।

यो परियोजना दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत चियोभञ्ज्याङदेखि आरुघाटसम्म कुल २ हजार १ सय ७९ किलोमिटर अप्टिकल नेटवर्क जोडिने योजना छ ।

उक्त लोकमार्गमा ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याइने टेलिकमले जनाएको छ । त्यसैगरी लोकमार्गबाट जिल्ला सदरमुकाम जोड्ने अप्टिकल फाइबर ४८ कोर र विभिन्न नगरपालिका जोड्ने अप्टिकल फाइबर २४ कोरका हुने पनि जनाइएको छ । उक्त सडकखण्डको उत्तर–दक्षिण क्षेत्रमा पर्ने प्रदेश नम्बर १, २ र ३ अन्तर्गतका ३५ जिल्लाका सदरमुकाम तथा नगर र गाउँपालिकाहरुमा अप्टिकल नेटवर्क विस्तार गरिनेछ । मुलुकभरका जिल्ला सदरमुकाम र यसमार्फत सम्पूर्ण गाउँपालिका, विद्यालय र स्वास्थ्य चौकी आदिमा ब्रोडब्यान्ड नेटवर्क पुर्याउने सरकारी नीति अनुरुप अप्टिकल फाइबर बिछ्याउने कार्य द्रूत गतिमा अघि बढाइएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।