नारामा लेक लागेर एक जनाको मृत्यु

पर्यटन मुख्य समाचार

हुम्ला, ६ जेठ, २०७६ । हुम्ला जिल्ला नाम्खा गाउँपालिका–५ मा पर्ने नारा लेकमा आइतबार लेक लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम्खा गाउँपालिका–६ तिलगाउका ६९ वर्षीया छिरीङ लामा रहेका छन् ।

हिमपातले बन्द भएको उत्तरी हिल्सा नाका खुलेपछि केही दिन अगाडि काठमाडौँबाट सिमकोट आएका लामा ४, ५ दिन सिमकोट बसेर आफ्नो घर तिलगाउ जाने क्रममा झन्डै ५ हजार मिटर उचाइको नारा लेकमा लेक लागेर उनको मृत्यु भएको सिमा चौकी हिल्सालाई उद्धृत गर्दै हुम्ला जिल्ला प्रहरी प्रमुख डिएसपी रामप्रशाद घर्तिमगरले बताए ।

नारा लेकमा जमेको हिउँ पग्लेर स्थानीय आउजाउ गर्न थालेपछि मंसिर महिनामा काठमाडौं झरेका लामा  घर तिल लिमी जान भनेर ३ दिन अगाडि सिमकोटबाट हिडेको अहिले काम विशेषले सदरमुकाम सिमकोटमा रहेका नाम्खा ६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।

लिमी आवत जावत गर्न ५ हजार मिटर भन्दा अग्लो न्यालु र झन्डै ५ हजार मिटर उचाइको नारा लेक गरी दुई बाटा छन् । नारा लेकमा हिउँ कम हुने भएकाले हिउँदमा घर छाडेर गएका लिमीमा बासिन्दाले घर फर्कंदा नाराको बाटो प्रयोग गर्ने गरेका छन् ।