दोलखाको किर्नेबाट चितुवाको छाला बरामद, तस्कर भने फरार

मुख्य समाचार समाज

दोलखा, ६ जेठ, २०७६ । सशस्त्र प्रहरी टोलीले साढे ५ मिटर लामो चितुवाको छाला बरामद गरेको छ । दोलखाको तामाकोसी गाउँपालिकाको किर्नेटार बजारबाट सशस्त्रको टोलीले एक साता अघि सुराकीको आधारमा साढे ५ मिटर लामो चितुवाको छाला बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल १८ नम्बर गुल्म चरिकोटका प्रहरी नायव निरीक्षक बद्री बहादुर सोडारीको नेतृत्वमा खटिएको टोलीले उक्त छाला बरामद गरेको गुल्मपति सशस्त्रका डिएसपी किरण कुमार कठायतले जानकारी दिए । सात दिन अघि बरामद छाला सशस्त्र प्रहरीले आइतबार मात्र सार्वजनिक गरेको हो ।

डिएसपी कठायतका अनुसार मध्यरातको समयमा भएकाले ओसारपसारमा संलग्न व्यक्ति फरार भएको र पहिचान भइसकेकाले उनको खोजी जारी छ । सशस्त्रले चितुवाको छाला जिल्लावनलाई आइतबार नै बुझाइसकेको छ ।

दोलखामा सशस्त्रको गुल्म स्थापना भए यता वन्यजन्तु चोरी सिकारीमा संलग्नहरुको अनुसन्धान गर्ने कार्यलाई तिव्रता दिइएको छ ।