वर्णन कविता हो, होइन ! – डिल्लीराज अर्याल

मुख्य समाचार साहित्य

कहिलेकाहिँ विशिष्ठ मान्छेहरूले बोलेकै कुरामा पनि चित्त बुझ्दैन। असहमत भइन्छ। यो स्वभावै रहेछ मान्छेको त्यसैले त विचारहरू आइरहन्छन्, टिप्पणी पनि भइरहन्छ र कतिपय कुराको निष्कर्ष पनि निस्कन्छ, तर कतिपय कुरा, विषय यस्ता पनि हुन्छन् जसलाई निष्कर्षमा पुर्याउन सकिन्न। गत वर्ष महासङ्घमा सम्पन्न भएको विशेष कविगोष्ठीमा भएको एउटा टिप्पणीलाई मैले त्यस्तै विषयका रूपमा लिएको छु। त्यो गोष्ठीमा केही राम्रा कविता वाचन भए। वाचित कविताबारे बडो रमाइलो र सारपूर्ण टिप्पणी पनि भयो तर टिप्पणीकै क्रममा – ‘वर्णन कविता होइन’ भन्ने जुन विचार आयो, निष्कर्ष आयो, त्यो अलि अनौठो लाग्यो र त्यसले मेरो मथिङ्गलमा थुप्रै प्रश्नहरू उब्जायो। त्यो निष्कर्षलाई मेरो मनले स्वीकार्न सकेन। स्वीकार योग्य मानेन, ठानेन।

यथार्थमा भन्ने हो भने त्यसमा यौटै शब्द ‘मात्र’ छुटेको हो र त्यही यौटै शब्द राख्दा त्यो सर्वस्वीकार्य जस्तै हुन सक्छ, हुन्छ तर त्यो शब्द नराख्दासम्म त्यो अस्वीकार्य नै हुन्छ। त्यो टिप्पणीको सार कतिलाई चित्त बुझ्यो, कतिलाई चित्त बुझेन त्यो मैले भन्न सक्ने र भन्न मिल्ने कुरो होइन तैपनि अनुमान गर्न सक्छु र गर्छु। त्यही अनुमानले पनि मेरो मनमा तरङ्ग ल्याउन सक्थ्यो र ल्यायो पनि।
मनमा कुरा खेलिरह्यो। के वर्णन कविता होइन? के कवितामा वर्णन हुँदैन? के वर्णन गरेर कविता रच्न सकिन्न? जस्ता थुप्रै थुप्रै प्रश्नहरू उठिरहे।

मैले पूर्वीय साहित्यमा वर्णन भएका थुप्रै कविता पढेको छु। पश्चिमी साहित्यमा पनि त्यस्तो वर्णन पाएको छु। म पनि कविता कोर्छु। कोर्छु यस अर्थमा कि त्यो निष्कर्षले मेरा धेरै कवितालाई कविता मान्दैन किनकि म कवितामा वर्णन पनि गर्छु। सबै कविता वर्णन विना पूर्ण हुन्छन् भन्ने कुरामा मलाई विश्वास छैन, हुन्न, लाग्दैन। कवितामा मान्छेको अनुभूतिको अभिव्यक्ति हुने हुनाले ठाउँको, व्यक्तिको, चरित्रको, व्यवहारको, व्यवस्था आदिको वर्णन हुन्छ, आउँछ। त्यो मात्राका हिसाबले धेरै थोरै हुनसक्छ तर हुन्छ। काव्यमा त झन् अनिवार्य नै हुन्छ भन्ने बुझेको छु।

रामायणका जनकपुर, किष्किन्धा, लङ्का आदिका, महाभारतका इन्द्रप्रस्थ, हस्तिनापुर, द्वारिका, मथुरा आदिका, किरातार्जुनीयमका शरद् वर्णन, इन्द्रकील पर्वतको वर्णन छन् भने कालिदासको मेघदूत पूरै वर्णन काव्य भने हुन्छ। कादम्बरी, दशकुमार चरित आदिका विविध स्थानका वर्णन, त्यसै गरी पुराना सबैजसो काव्यमा युद्धका, स्थानका, व्यक्तिका स्वरूप, चरित्र, गुण आदिका वर्णन छन् र ती मध्ये कतिपय त अत्यन्तै प्रभावकारी पनि। के ती कविता होइनन् ? पश्चिमी साहित्यमा पनि यस्ता वर्णन हुन्छन्, छन् ती कविता वा काव्यमा पनि पाइन्छन्। कविता, काव्यमा आउने गरेका र काव्यमा त आउनैपर्ने भनिएका त्यस्ता वर्णन कविता होइनन्, हुँदैनन् भन्ने कुरामा म बहस नगर्न सक्छु तर सहमत हुन सक्दिन किनकि धेरै कुराको संयोजन भएपछि बल्ल त्यसमा विशेष कुरा अडिन्छ । मेरो बुझाइमा हात, खुट्टा, नाक, कान, आँखा… आदि सबैको संयोजनबाट शरीर बन्छ । त्यसमा प्राणतत्व हुँदा प्राणी हुन्छ भएन हुन्न, तर शरीर ? आँखा कान आदि अङ्गका निम्ति टाउको, टाउकाको निम्ति शरीर आवश्यक हुन्छ। सूक्ति आउन पनि कुनै विषयको वर्णन आउन सक्छ, आउँछ।

त्यसैले मेरो विचारमा कवितामा पनि वर्णन, चित्रण, अनुभूति आदिको संयोजन हुनु अस्वाभाविक हुँदैन। ती सबैको समष्टिमा काव्य वा कविताको स्वरूप निर्धारण हुन्छ। त्यसैले वर्णन मात्र कविता नहोला तर वर्णनमा पनि कवित्व हुन सक्छ, हुन्छ। कविताबाट वर्णनलाई अलग्याउन सकिन्न। बरु भन्न सकिन्छ वर्णन मात्र कविता होइन। कविताका लागि वर्णनभित्र पनि कतै न कतै विशिष्ट भनाइ, सूक्ति चाहिन्छ। यति हुँदा हुँदै पनि भन्नैपर्ने हुन्छ सूक्ति, विशिष्ट भनाइ आउन पनि कतै न कतै, कुनै न कुनै रूपमा वर्णन चाहिन्छ हुन्छ नै।

संक्षिप्तमा भन्दा- ‘अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते’ आएपछि नै ‘जननी जन्मभूमिश्चत स्वर्गादपि गरीयसी’ जस्ता सूक्ति आउँछन् । त्यसैले मेरो विचारमा वर्णन कविता होइन भन्नु उपयुक्त हुँदैन बरू वर्णन मात्र कविता होइन भन्नु उपयुक्त हुुन्छ, सान्दर्भिक हुन्छ।