बालज्योति विद्यालयमा स्वास्थ्य शिविर

मुख्य समाचार विषेश समाचार शिक्षा

कोहलपुर (बाँके), ६ जेठ, बाल ज्योती अंग्रेजी माध्यमिक विद्यालय कोहलपुरमा आज एक दिवसिय स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विद्यालयका संस्थापक तथा प्याब्सनका पूर्वउपाध्यक्ष स्व. टिकाराम सुवेदीको आठौँ स्मृति दिवसका सन्दर्भमा सो स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

सो शिविरलाई नेपाली सेनाको श्री भैरव प्रसाद गणले सहयोग गरेको छ । शिविरमा आवश्यक पर्ने औषधि लगायतका सेवाहरु कोहलपुर हेल्थ केयर अस्पतालले सौजन्य गरेको छ । शिविरबाट विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थी तथा अन्य सहभागीहरुले लाभ लिइरहेका छन् । शिविरमा चेकजाँच, औषधि वितरण, स्वास्थ्य परामर्श लगायतका सेवा उपलब्ध गराइएको छ ।

विद्यालयका संस्थापक टिकाराम सुवेदी (टिकाराम सर) को सडक दुर्घटनामा परि वि.सं. २०६७ साल जेठ ६ गते निधन भएको थियो । हरेक वर्ष विद्यालयले विभिन्न सामाजिक कार्यहरु गरेर उनको सम्झना गर्ने गरेको विद्यालयकी संस्थापक तथा स्व.सुवेदीकी पत्नी लक्ष्मी सुवेदीले बताइन् । सोही अन्तर्गत हिजो आइतबार कोहलपुरमै रहेको निल सागर जेष्ठ तथा असहाय सेवा केन्द्रमा खाद्यान्न लगायतका सामग्री सहयोग गरिएको थियो ।