बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

मुख्य समाचार समाज

बैतडी, ५ जेठ, देहिमाण्डौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार बिहान साढे ११ बजे दशरथचन्द नगरपालिका–११, नानीगाडमा सो जीप दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नेत्रमणि गिरीले बताए ।

दुर्घटनामा परी बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोटका अन्दाजी ६५ वर्षीय हिराबल्लभ भट्ट, उनकै भाइ ५५ वर्षीय लालमणि भट्ट र सोही ठाउँका अन्दाजी ४५ वर्षीय नरुली भट्टको घटनास्थलमै ज्यान गएको छ ।

दुर्घटनामा परी तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा दशरथचन्द नगरपालिका–१० का प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगरका २६ वर्षीय राहुल भट्ट र जीप चालक दशरथचन्द नगरपालिका–१० का नवीन भट्ट छन् । घाइतेमध्ये प्रकाशको अवस्था चिन्ताजनक छ ।

जीप दुर्घटनाको कारण भने खुलेको छैन । घाइतेका अनुसार सडकमा ढुंगा भएकाले ब्रेक लगाउँदा चिप्लेर दुर्घटना भएको हो ।

नागार्जुनस्थित देउताल मन्दिरमा पूजाको लागि गएका उनीहरु दुर्घटनामा परेका हुन् । जीप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।