एकसय २० किलो गाँजासहित दुई जना पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार

हेटौडा, ४ जेठ, २०७६ । कुखुराको दाना बोकेको मालबाहक ट्रकमा राखिएको एकसय २० किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रक धनी तथा चालक मकवानपुरको राक्सिराङ गाउँपालिका– ३ का २८ वर्षीय सुकुलाल थिङ र ट्रकमा सवार सोही स्थानका ३१ वर्षीय नमराज दर्जी रहेका छन् ।

ट्रकभित्र विजय ब्राण्डको कुखुराको दानाको बोराहरुले छोपेर सेतो प्लास्टिकको बोराभित्र ११ वटा पोकामा लुकाई राखेको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । उनका अनुसार जाँचको क्रममा ट्रक नरोकी जर्बजस्ती अघि बढाउन खोजेपछि प्रहरी टोलीले पिछा गरेर पक्राउ गरेको थियो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका ११, नवलपुरबाट ना ३ ख ३७१५ नम्बरको ट्रक जाँचको क्रममा गाँजासहित उनीहरुलाई शनिबार बिहान साँढे दुई बजे प्रहरीले पक्राउ गरेको हो । तीन नम्बर प्रदेश प्रहरी कार्यालयबाट प्राप्त विशेष सूचनाको आधारमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ट्रकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार झाको कमाण्डमा खटिएको प्रहरी टोलीले जाँच गरेको थियो ।

गाँजासहित पक्राउ परेका अभियुक्तहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

तस्विर: सांकेतिक/फायल