भाषा र संस्कृतिले समाजलाई जोड्छ : सांसद डा. सिंह

कला/संस्कृति मुख्य समाचार विषेश समाचार

गौर, ५ जेठ, २०७६ । संघीय संसदका सदस्य डा. अमरेशकुमार सिंहले भाषा र संस्कृतिले समाजलाई जोड्ने बताएका छन् । काका सामुदायिक सिकाइ केन्द्र बलराद्वारा आयोजित बज्जिका भाषा संगोष्ठी : विगत, वर्तमान र भविष्य विषयक संगोष्ठीको उद्घाटन गर्दै सांसद डा.सिंहले बज्जिका भाषाको प्रचारप्रसार अभियानलाई निरन्तर जोडिराख्नु जरुरी भएको पनि बताएका छन् ।

सांसद सिंहले आफ्नो मातृभाषा बज्जिका रहेकोले यसको संरक्षण र विकासको लागि आवश्यक परे आफू संसदमा आवाज उठाउन तैयार रहेको प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा विभाग प्रमुख प्रा.डा.योगेन्द्र प्रसाद यादव, त्रिभुवन विश्वविद्यालयको भाषा विज्ञान विभागका प्रा.डा. देवनारायण यादव तथा बज्जिका साहित्यकार सञ्जय मित्रद्वारा प्रस्तुत गरिएको विभिन्न पक्षको कार्यपत्रमाथि वरिष्ठ पत्रकार चन्द्रकिशोर तथा भारतका बज्जिका साहित्यकार डा.व्रजनन्दन वर्माले टिप्पणी गरेका थिए ।

नेपाल र भारतका दर्जनौँ साहित्यकार तथा भाषासेवीको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता सिकाइ केन्द्रका अध्यक्ष कामेश्वरप्रसाद सिंह र सबैलाई स्वागत डा. कमलेश्वरकुमार सिन्हाले गरेका थिए ।
कार्यक्रममे जितेन्द्रप्रसाद सिंहद्वारा प्रकाशित तथा सम्पादित बज्जिका प्रभात खबर साप्ताहिक पत्रिका र साहित्यकार सञ्जय मित्रद्वारा लिखित मुक्तककृति बज्जिका जिन्दावादको पनि लोकार्पण गरिएको थियो ।