फेसबुके भद्दा शुभकामना !

मुख्य समाचार विचार

— डिल्लीराज अर्याल

जन्मदिन, व्रतबन्ध भएको दिन त मेरो पनि आउँछ, मेरो विवाह भएको दिनको सम्झना त मलाई पनि छ । केही त्यस्ता फोटाहरू मसँग पनि छन् मैले पनि चाहे राख्न सक्थें तर मलाई अहिले चलेको शुभकामना, बधाईको शैली प्रारम्भदेखि नै भद्दा लाग्ने गर्‍यो । एकदमै औपचारिक, आजभोलिका मान्छेले मन नमिली नमिली मिलाउने हात जस्तै त्यसैले मलाई त्यो हात मिलाउनु वाहियात लाग्छ।

मनमा कुनै आत्मीयता छैन, फोस्रो औपचारिकता मात्र। न आफ्नो संस्कार, न संस्कृति, न मनभित्र सहृदयता छ त्यसले पनि बधाई भन्छ,। ब्यर्थैको ढाँचाको बधाई । हो, बधाई ढाँचाको, शुभकामना ढाँचाको हात मिलाई ढाँचाको । बरु त्यसै भेट भए के भयो ?, खुशी लागे, श्रद्धा, आदर भए नमस्कार, नमस्ते, नमन… आदि छँदैछन् । आत्मीयता भए त्यसै भेट भए पनि पुगिहाल्छ। हातै मिलाउनै पर्छ र? कहिले काही, विशेष अवसरमा भए पनि ल…।

आजभोलिका जन्मदिन मनाउन पनि केक काट्नै पर्ने ! कागजको चुच्चे टोपी किनेर लाउनै पर्ने ! बालेको बत्ती फुकेर निभाउनै पर्ने ! अङ्ग्रेजीका ‘ह्याप्पी बर्थ डे टु यू’ भन्नै पर्ने ! जन्मदिनको बधाई भने पनि त हुन्छ । त्यही नभनी नहुने ? नमिसाई बोल्नै नहुने ? त्यति गरे पछि, त्यसै गरी बोलेपछि हुने, पुग्ने। जम्मै अर्काको सहारामा हिडेर देश बनाउने,संस्कार, संस्कृति जोगाउने धाक लाउने हामी।

यसो हेर्छु । आफ्नो भन्ने केही छैन जस्तो । हाम्रो आफ्नो नभएकै भए पनि सुहाउँदो हो। नयाँ केही बनाएर चलाएको भए पनि सुहाउँदो हो । यहाँ त त्यो पनि छैन अझ स्वाधीनताका कुरा, राष्ट्रवादका कुरा । भाषा, संस्कार संस्कृति विनाको कस्तो राष्ट्र ! विना राष्ट्र कस्तो राष्ट्रवाद ! आफ्नो भाषा,आफ्नो संस्कृति, आफ्ना सीमा, बन्द ब्यापारजस्ता कुरा उपेक्षित हुँदै, कमजोर हुँदै गए । हामी आफैं बन्दी जस्ता, अनुचर, दास सरह हुँदै गयाैँ । हाम्रो कतै कुनै क्षेत्रमा स्वाभिमान देखिएन, रहेन ।

हामीलाई सिँगारिएर हिड्न पाए पुग्यो । अहं देखाउन र बटारिएर हिड्न पाए पुग्यो । पुर्खाका धाक लाएर शान देखाउन पाए पुग्यो । मिठो खान र कपडा भिर्न पाए भयो । त्यसै हो भने हामीलाई बधाई, शुभकामना किन चाहियाे ? अझै अरू…के के किन चाहियो ?

त्यसैले म वर्थ डे मनाउने, केक काट्ने, हात मिलाउने जस्ता कुराबाट सक्दो गरी उम्कन चाहन्छु, निरपेक्ष हुन चाहन्छु । स्वतन्त्र बन्न र बस्न चाहन्छु । मुहारपुस्तिकामा आफ्नो जन्म दिन, विवाह दिनजस्ता कुराको चर्चा गरेर शुभकामना बटुल्न पनि चाहन्न, चाहिन । शुभकामना र बधाई खोज्न र दिएनन् भनेर गुनासो गर्ने बन्न पनि चाहन्न ।

किन किन म अरूको बेकारको नक्कलमा होइन, आफैंमा रमाउन चाहन्छु । आफ्नै कुरामा हराउन चाहन्छु।