मानन्धरको लघुकथासंग्रह ‘घाम’ सार्वजनिक

मुख्य समाचार विषेश समाचार साहित्य

काठमाडौँ, ५ जेठ, २०७६ । साहित्यकार शुषमा मानन्धरको लघुकथासंग्रह ‘घाम’ सार्वजनिक गरिएको छ । आइतबार अनामनगरमा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ कथाकार माया ठकुरीको उपस्थितिमा सो कृति सार्वजनिक गरिएको हो ।

कृतिको परिचर्चासमेत गरिएको कार्यक्रममा वरिष्ठ नाटककार अशेष मल्ल र प्रा.डा. लक्ष्मणप्रसाद गौतमले कृतिको गहन समीक्षा गरेका थिए । कृतिमाथि आफ्नो विचार प्रस्तुत गर्दै वरिष्ठ नाटककार मल्लले मानन्धरका केही कथाहरु अब्बल रहेको उल्लेख गरे । लघुकथामा ग्राफ, कन्फिक्ट र डिजायर हुनु पर्ने बताउँदै मल्लले शब्द गणनाको अर्थ नहुने स्पष्ट पारे ।

अर्का समीक्षक प्रा.डा. गौतमले खारिएकि स्रष्टाका परिपक्व कथाहरु ‘घाम’ मा समावेश भएको बताए । उनले सम्पूर्ण कथाको प्रतिनिधित्व हुने खालको शीर्षक राख्नु पर्ने सुझाव दिए । कृतिको भाषा सम्पादनमा कमजोरी देखिएको भन्दै गौतमले अर्को संस्करणमा यसलाई सुधार गर्न आग्रह गरे ।

कार्यक्रमकी प्रमुख अतिथि वरिष्ठ कथाकार माया ठकुरीले ‘घाम’ मा समावेश कथाहरु उत्कृष्ट रहेका बताइन् ।

कार्यक्रमका सभापति तथा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले कृतिमा देखिएको भाषिक अशुद्धिको जिम्मेवारी प्रकाशकले पनि लिनु पर्ने दाबी गरे । उनले लघुकथा विधाको बारेमा अब छलफल गरिरहनु पर्ने आवश्यकता नरहेकोले कृति समीक्षा मात्रै आवश्यक रहेको बताए ।

सीमित साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहेको सो कार्यक्रमका सहभागीहरूलाई डा. पुस्करराज भट्टले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन साहित्यकार तथा पत्रकार तुलसीहरी कोइरालाले गरेका थिए ।