कम्युनिष्टले जनतामा भ्रम छर्ने काम गरे : कांग्रेस नेता महत

मुख्य समाचार राजनीति

कुस्मा, ४ जेठ, २०७६ । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले कम्युनिष्टले जनतामा भ्रम चर्को छर्ने तर कामै नगर्ने गरेको बताएका छन् । नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालयमा शनिबार बिहान कार्यकर्ता भेटघाटमा महतले कम्युनिष्टबाट भ्रमित भएका जनता बिस्तारै बुझ्न थालेको बताए ।

‘निरंकुश फाल्ने हामी, शान्ति ल्याउने हामी, संविधान ल्याउने हामी, संविधानको कार्यान्वयन गर्ने हामी, मुलुकलाई विकासको दिशानिर्देश गर्ने हामी तर अहिले हामीले गरेको काम देखिएको छैन’ पर्वतका कार्यकर्ता भेटघाटमा महतले भने– ‘कम्युनिष्ट गर्दै नगरेको कामलाई पनि प्रचार गरेर भ्रम छर्न पोख्त छन तर हामी गरेका कामलाई पनि प्रचार नै गर्दैनौ ।’

कम्युनिष्ट ज्यादा कुरा गर्ने, कांग्रेस काम गर्ने भएकोले कम्युनिष्ट र कांग्रेसबिचको फरक नै त्यही भएको उनले बताए । ‘जनतालाई सधैँ भ्रममा राख्ने कम्युनिष्टको शक्ति भनेकै प्रोपोगाण्डा हो’ उनले भने– ‘कामै नगरेपनि भ्रममा पारिराख्ने ।’ कांग्रेसले गरेको कामको प्रचार कम हुँदा कम्युनिष्टले कुहेको चामल बेचिरहेको प्रसंग ल्याउदै कांग्रेस सह–महामन्त्री महतले कामसँगै जनतालाई बुझाउन नसक्नु कांग्रेसको कमजोरी भएको धारणा राखे ।

‘कम्युनिष्टभन्दा एक सय गुण बढी काम हामीले गरेका छौ तर पनि अहिले केही पनि नगरेझैं भएको छ’ उनले भने । उनले आफू–आफूबीच आन्तरिक आरोप–प्रत्यारोप, निन्दा गर्ने बानीले कांग्रेस कमजोर भएको भन्दै उनले कम्युनिष्टको खराब काम र भ्रमका विषयमा जनतालाई बुझाउन लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।