यार्सागुम्बा र नगदसहित यार्सा तस्कर पक्राउ

पर्यटन मुख्य समाचार

डोल्पा, ३ जेठ, २०७६ । हिमाली जिल्ला डोल्पाको एक यार्सापाटनबाट अवैध रुपमा छिरेका बीसजना यार्सागुम्बा तस्कर पक्राउ परेका छन् । उनीहरुलाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्ने ढाढाचौर यार्सा पाटनबाट सुम्दो चेकपोष्टबाट खटिएको निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती टोलीले १६ जना पुरुष र ४ जना महिलासहित बिस जनाको समुहलाई पक्राउ गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोद कुमार यादवले जानकारी दिए ।

पक्राउ पर्ने सबै जुम्ला जिल्लाका भएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । पक्राउ परेको टोलीबाट १५० गोटा यार्सागुम्बा, नगद २ लाख ८१ हजार, कुटो १८ वटा, हँसिया १ वटा, मोबाइललगायतका सामानहरु बरामद गरिएको निमित्त संरक्षण अधिकृत यादवले जानकारी दिए । पक्राउ परेका ब्यक्तिलाई आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

जिल्लास्थित सरोकारवाला निकायको बैठकले १३ जेठमामात्रै डोल्पाका सम्पूर्ण यार्सागुम्बा पाटन खोल्ने निर्णय गरेकाले पाटन खुल्नु अगावै चोरी शिकारी गर्ने उद्देश्यले यार्सापाटन छिर्ने जो कोहीलाई पक्राउ गरेर कारवाही गरिने निकुञ्जको भनाइ छ ।