सरकार जनतालाई नियन्त्रणमा राख्न खोज्दैछ — कांग्रेस सह–महामन्त्री महत

मुख्य समाचार राजनीति विषेश समाचार

बागलुङ, ३ जेठ, २०७६ । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले अहिलेको सरकारको समृद्धि नारामा मात्रै सीमित भएको बताएका छन् । नेपाल राष्ट्रिय मगर संघ बागलुङको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै महतले अहिलेको सरकारबाट राष्ट्र समृद्ध नबन्ने बताए । ‘अहिलेको सरकारले नारामा मात्रै समृद्धिको कुरा गरेको छ । काम र व्यवहारमा समृद्धिको आधार देखिदैन’, उनले भने, ‘अहिले पनि कम्युनिष्ट सरकारले समृद्ध राष्ट्र बनाउनु भन्दा जनतालाई पार्टीको नियन्त्रण भित्र ल्याउन डर त्रास र धम्कीका आधारमा आतङ्क फैलाउने काम गरेको छ ।’

कम्युनिष्ट पार्टीले जनतासँग भ्रम सिर्जना गरेर चुनाव जितेको प्रमाणित भएको बताए । ‘चुनावका बेलामा ठूलठूला सपनाहरु बाँड्नुभयो, अहिले व्यवहारमा त्यो देखिएको छैन’, उनले भने, ‘जनतालाई भ्रममा पार्न र व्यवहारिक रुपमा काम गरेर देखाउनु फरक कुरा हुन् ।’ पूर्वमन्त्री समेत रहेका महतले समृद्ध राष्ट्र निर्माण गर्न सक्ने क्षमता कम्युनिष्ट पार्टीमा नभएको जिकिर गरे । ‘वर्तमान सरकार सबै क्षेत्रमा असक्षम सावित हुँदै गएको छ’, मन्त्री महतले भने ‘सरकारले भ्रष्ट्रचारी, बलत्कारी र अपराधीलाई संरक्षण गर्न भ्याइनभ्याई छ, कसरी मुलुुक समृद्ध बन्छ ? समृद्ध राष्ट्र सुखी नेपाली सरकारको नारा नारामै सिमित भएको छ ।’

प्रधानमन्त्री काममा भन्दा प्रचारमा केन्द्रीत भएको उनको भनाई छ । प्रधानमन्त्री काम भन्दा विज्ञापन ठूलो गर्छन् हरेक कुरा हाँसोमा उडाउँछन’, नेता महतले भने, ‘उनका भक्तहरु जे कुरा नि ठिक हो भन्दै पछिपछि दौडन्छन् ।’ सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको बताउँदै उनले यसको विरोधमा नेपाली कांग्रेस लागि रहेको बताए । महतले अहिलेको सरकार नेपाली कांग्रेसले गरेको कामलाई हामीले गरेको भन्दै नेपाली जनतालाई भ्रम फैलाउँदै हिँडेको आरोप समेत लगाए ।