दुई क्वीन्टल गाँजासहित सर्लाहीबाट दुईजना पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार समाज

सर्लाही, २ जेठ, २०७६ । सर्लाही प्रहरीले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । बुधबार राती दुई क्वीन्टल १२ किलो गाँजासहित पक्राउ परेका दुईजनालाई प्रहरीले बिहीबार दिउँसो सार्वजनिक गरेको छ ।

लालबन्दी नगरपालिका–७ स्थित प्राथमिक स्वास्थ्य केन्द्र नजिकबाट बीआर ३० पी १४५८ नम्बरको भारतीय जीपमा राखिएको १ क्वीन्टल ५० किलो गाँजा बरामद् गरिएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । जीपमा गाँजा लोड गरेर ओसारपसारमा संलग्न लालबन्दी नगरपालिका–७ निवासी ३७ वर्षीय सनोज राज घिमिरे र पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१८ भीस्वा घर भइ हाल लालबन्दीमा ग्यारेज सञ्चालक २२ वर्षीय सिधु सिंह पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जीपमा गाँजा ओसारपसार भइरहेको छ भन्ने सुराकीको आधारमा खटिएको इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले एक सय ५० किलो गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए । प्रहरी टोलीलाई देख्ने वितिकै जीप छाडेर भाग्दै गरेका घिमिरे र सिंहलाई प्रहरी टोलीले लखेटेर पक्राउ गरेको थियो ।

त्यस्तै बुधबार राती नै लालबन्दी प्रहरीले लालबन्दी नगरपालिका–६ स्थित सङ्गम लामाको घरबाट ६२ किलो गाँजा बरामद गरेको छ । गाँजा लुकाएर राखेको छ भन्ने विशेष सुराकीका आधारमा खटिएको टोलीले लामाको घरबाट उक्त गाँजा बरामद् गरेको हो । घरका मानिस भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सक्रियता बढाएपछि गाजाँको कारोवारमा संलग्नहरु पछिल्लो समय धमाधम पक्राउ पर्न थालेका छन् ।