कञ्चनजंघा आरोहण गर्न गएका दुई भारतीयको मृत्यु, एक चिलीका नागरिक बेपत्ता

पर्यटन मुख्य समाचार

ताप्लेजुङ, २ जेठ, २०७६ । यसपटकको बसन्त ऋतुमा ६ जना शेर्पाले रोप फिक्टिङको काम गर्दै ८ हजार ५८६ मिटरको उचाईमा रहेको कञ्चनजंघाको सफल आरोहण गरेको भोलिपल्टै २ जना भारतीय आरोहीले ज्यान गुमाएका छन् । एकजना चिलीका नागरिक बेपत्ता छन् ।

पिक प्रोमोसन नामक ट्रेकिङ एजेन्सीमार्फत आरोहणमा गएका दुई भारती नागरिकको मृत्यु भएको र शव ल्याउने प्रयास चलिरहेको पिक प्रोमोसनका मुख्य सम्पर्क व्यक्ति केशव पौडेलले जानकारी दिए । उनका अनुसार कञ्चनजंघाको चुचुरो नजिक ८ मिटर उचाईमा पुगेका भारतीय नागरिक कुन्टलको मृत्यु भएको हो ।

यस्तै कञ्चनजंघाको सफल आरोहण गरेर फर्कदै गरेका अर्का भारतीय नागरिक विप्लव वैद्यको समेत मृत्यु भएको छ । समिट गरेर फर्कने क्रममा करिब ५ सय ८६ मिटर तल आईपुगेका बेला अचेत बनेका वैद्यको मृत्यु भएको पौडेलले जानकारी दिए ।

यता जीपीएसमा कञ्चनजंघाको सफल आरोहण गरेको देखिएको तर चुचुरोबाट २ सय मिटर तल झरेपछि चिलीका आरोही रोडर गुईच सम्पर्क बिहिन छन् ।