स्तन प्रत्यारोपणले महिलाको सौन्दर्य र आत्मविश्वास बढाउँछ : डा. अमात्य

अन्तर्वार्ता मुख्य समाचार विषेश समाचार

बढ्दाे स्तन क्यान्सरले महिलालाई सताउने गरेकाे छ । समयमै उपचार नपाउँदा कतिपयले त स्तन काटेरै फाल्नुपर्ने बाध्यता झेलिरहेका छन् । तर अब स्तन काटेर फाल्नु पर्दैन । सुन्दा अचम्म लागे पनि स्तन प्रत्याराेपण गर्न मिल्छ र याे सुविधा मुलुकमै उपलब्ध छ । यसले उपचारमा सहजताका साथै रोगीलाई पूर्ववत् जीवनयापन गर्न मद्दत गर्छ । यसै सन्दर्भमा हामीले हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पतालका क्यान्सर सर्जन डा. कपेन्द्र अमात्यसँग कुराकानी गरेका छौ ।

यो स्तन प्रत्यारोपण भनेकाे के हाे र कसले गराउन सक्छन् ?
— स्तन क्यान्सरको उपचारपछि क्यान्सर मुक्त भएर लामो जीवन जीउने धेरै हुनुहुन्छ । एउटा महिलाका लागि स्तन हुनु र नहुनमा धेरै फरक पर्छ । स्तन काटेर फालेपछि उनीहरुले अर्कै महसुस गर्छन् । यसमा स्तन प्रत्यारोपण भनेको शरीरको अरु अंग तथा स्थानबाट केही तन्तु निकालेर स्तनको पुर्ननिर्माण गर्छौ । विदेशमा अझ सिलिकनको ब्रेस्ट राख्ने चलन पनि धेरै छ, तर त्यो नेपालमा एकदमै महँगो हुन जान्छ । त्यो भएकोले हामीले आफ्नै शरीरको अंग जस्तै पेटबाट भयो, ढाडबाट मासु ल्याएर प्रत्यारोपण गर्छौ ।

शरीरका विभिन्न अंगबाट तन्तु ल्याएर राख्दा निकालिएका ठाउँमा केही असर पर्छ या पर्दैन ?
— पेटबाट निकालिदा पेट अलिकति कमजोर हुन सक्छ । त्यसको लागि हामीले अन्य टेक्निकहरु प्रयोग गर्छौ, जस्तोकी जालीहरु राख्छौ जसले त्यो ठाउँ कमजोर नहोस् । कुनै पनि अप्रेशनको साइड इफेक्ट नहुने भन्ने त हुँदैन । तर फाइदा छ, मोटो भएको पेट अलि दुब्लो पनि हुन जान्छ ।

स्तन काटेर फाल्नुमा र प्रत्यारोपण गर्नुमा फरक के छ ?
— स्तन काटेर फाल्नु भनेको रोगको उपचारका लागि हो । प्रत्यारोपण भनेको एक प्रकारको सौन्दर्यता र आत्मविश्वासको लागि गर्छौ । किनभने मानिसको शरीरमा एउटा अंग नहुँदा उनीहरुले आफूलाई अधुरो ठान्छन्, जसले गर्दा उनीहरुको जीवनमा धेरै असर गर्छ । स्तन प्रत्यारोपणले स्त्रीलाई पूर्णता दिन्छ । यसले गर्दा उनीहरु आत्मविश्वास बढ्न जान्छ, आफ्नो जीवनलाई सहज रुपमा जीउन सक्छन् ।

स्तन प्रत्यारोपण कस्तो अवस्थामा गर्न मिल्छ र कस्तो अवस्थामा गर्न मिल्दैन ? बिरामीले के कुरामा ध्यान दिनु आवश्यक छ ?
— प्राय: प्रत्यारोपण सबैमा गर्न मिल्छ । तर चुरोट खाएका वा खानेहरुलाई, मधुमेह भएकाहरुलाई सकभर नगर्न सुझाव दिन्छौ । किनभने उहाँहरुको रक्तनली अलि कमजोर हुन्छ । उसको शरीरमा ल्याएका तन्तुहरु त्यति राम्रो हुँदैन । यस्तो अवस्थामा गरिएका प्रत्यारोपण फेल पनि हुन सक्छ । त्यस्तो अवस्थामा हामी प्रत्यारोपण गर्दैनौ । तर जसको राम्रै छ, पेटको मासु पनि धेरै छ भने उहाँहरुको लागि भने राम्रो हुन्छ ।

स्तन काटेर फालेको बिरामी या भनौ क्यान्सरबाट मुक्त भइसकेकाहरुले मात्र स्तन प्रत्यारोपण गर्न सक्छन, हैन ?
— हो । स्तन काट्ने भनेको क्यान्सरबाट मुक्त हुनका लागि हो, यसलाई उपचारको पाटो भनेर बुझौ । दोस्रो प्रत्यारोपण भनेको क्यान्सरबाट मुक्त भइसकेकाहरुलाई गर्ने हो । यो उपचारको पाटो होइन । उपचारपछि गरिने प्रक्रिया हो । पहिले उपचार भइसकेका महिलाहरुलाई पनि प्रत्यारोपण गर्न हामी सुझाव दिन्छौ । कुनै पनि बिरामीको स्तन सकभर बचाउने कोशिस गर्छौ तर स्तन बचाउन नसकेकोहरुलाई एकै समयमा अपरेशन गर्दा गर्दै हामी प्रत्यारोपण पनि गर्दिन्छौ ।

स्तन प्रत्यारोपणको फाइदा र बेफाइदाको पाटोलाई केलाउँदा के–के छन् ?
— मुख्य त क्यान्सरको उपचार भयो । दोस्रो कुरा भनेको उहाँको सौन्दर्य बच्यो । जसले गर्दा उनीहरुले आफ्नो जीवन राम्ररी जीउन सक्छन् । अहिले स्तन क्यान्सरको उपचारलाई हेर्यो भने राम्रो छ । समयै र पूर्ण रुपमा उपचार गरियो भने नेपालमै पनि करिब ८० प्रतिशत भन्दा बढी मानिसहरु क्यान्सर मुक्त भएर जीवन बाँचिरहेका छन् ।

स्तन प्रत्यारोपण कतिको महँगो हुन्छ ?
— अरु अप्रेशन जस्तै हो यसमा पनि । करिब डेढ लाख जति लाग्छ ।

Loading...