जनता र प्रेसप्रति सरकार अनुदार : गगन थापा

मुख्य समाचार राजनीति

बाँके, १ जेठ, २०७६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारको कार्यसम्पादन कमजोर हुँदा जनता र प्रेसप्रति अनुदार हुँदै गएको बताएका छन् । पार्टीले सुरु गरेको राष्ट्रिय जागरण अभियानका लागि जाजरकोट जाने क्रममा नेपालगन्ज विमानस्थलमा बुधबार संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री थापाले भने, ‘यो सरकार जति अनुदार हुदै जान्छ, त्यति नै यसको कार्यसम्पादन कमजोर हुँदै जान्छ, यसको कार्यसम्पादन जति कमजोर हुदै जान्छ त्यति अनुदार हुदै जान्छ, यो चक्र जस्तो हुन्छ ।’

स्थीर सरकारले एक वर्षमा विकासको यात्रामा कार्यसम्पादन गर्न नसकेर पुरै असफल भएको ठोकुवा उनले गरे । उनले थपे, ‘कार्यसम्पादन गर्न नसकेपछि त प्रेसले बोल्छ, मान्छेले बोल्छन् भनेर सरकार अनुदार बनेको छ ।’ सरकारले प्रेसको स्वतन्त्रतालाई कानुनै बनाएर मास्न खोजेको युवा नेता थापाले बताए । ‘सरकारले नयाँ मिडिया काउन्सिल विधेयक लिएर आएको छ, मानव अधिकार विधेयक यसले दर्ता गर्यो, सबै कुरालाई एक ठाउँमा राखेर हेरियो भने समग्रमा यसले संसदलाई कमजोर बनाएको छ’, उनले भने ‘अदालतलाई यसले धम्क्याएको छ, संबैधानिक आयोग सबैलाई यसले कमजोर बनाएको छ, प्रेसको स्वतन्त्रतालाई यसले कानुनै बनाएर मास्न खोजेको छ ।’ सरकारले यस वर्षको नीति कार्यक्रम बजेटको प्रारम्भिक सिद्धान्त प्रस्तुत गर्दा रवैया देखाएको थापाले बताए ।

Loading...