मुख्यमन्त्री पोखरेल र चीनको कान्सु प्रान्तका गभर्नरबीच भेटवार्ता

प्रदेश

लुम्बिनी, १ जेठ, २०७६ । मुख्यमन्त्री शंकर पोखरेलसँग मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको कान्सु प्रदेशका गर्भनर थाङ रनच्यानले बुधबार भेटवार्ता गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्रीले प्रदेश ५ को विशेषता र सम्भावना बारे जानकारी गराउँदै संघीयता कार्यान्वयनको एक वर्षमा आवधिक योजना र कानुन निर्माणलाई प्राथमिकता दिएको र योजनाबद्ध विकासको बाटो तय गरेको बताए ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीसहित धेरै बौद्ध संस्कृतिसँग सम्बन्धित सम्पदास्थलहरु रहेको र ती क्षेत्रमा पर्यटन प्रवद्र्धन गरी लाभ लिने गरी योजना अघि सारिएको मुख्यमन्त्रीले बताए । गर्भनर रनच्यानले प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा खुशी लागेको मुख्यमन्त्रीले बताए ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै चीनको कान्सु प्रदेशका गर्भनर थाङ रनच्यान

भेटवार्तामा मुख्यमन्त्रीले नेपालको विकास प्रयासमा चिनियाँ सहयोग आवश्यक रहेको र खासगरी पूर्वाधार विकासमा चिनियाँ सहयोगले धेरै लाभ लिन सकिने बताए । स्याउ उत्पादन राम्रो रहेको र नेपाल आउने स्याउको ठूलो हिस्सा कान्सुबाट आएको जानकारी पाएपछि मुख्यमन्त्रीले हाम्रो हिमाली क्षेत्रमा पनि स्याउको सम्भावना राम्रो रहेको र प्रविधि हस्तान्तरणको अपेक्षा गरेको बताए ।

यसैगरी द्विपक्षीय सहयोग र साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री शंकर पोखरेल र गर्भनर थाङ रनच्यानको उपस्थितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल र कान्सु प्रदेशका सांस्कृतिक तथा पर्यटन निर्देशक थन वाइतोङले हस्ताक्षर गरी समझदारी पत्र आदानप्रदान गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसीले जानकारी दिए ।

Loading...