बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना कार्यान्वयनको चरणमा

मुख्य समाचार रोजगार विषेश समाचार

काठमाडौँ, ३१ वैशाख, नेपाल सरकार श्रम, रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयले बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना लागु गर्ने भएको छ । वि.स. २०७५–२०८५ को दश वर्षको अवधिमा नेपाललाई बालश्रममुक्त देशको रुपमा परिवर्तन गर्ने सोच र लक्ष्यका साथ सो गुरुयोजना लागू गरिएको हो ।

यो गुरुयोजना लागू गर्न कस्ता चुनौति छन्, ऐन, नियम र कानुनमा के परिवर्तन वा सुधार गर्नुपर्छ, बालश्रम अन्त्य कसरी गर्न सकिन्छ, गुरुयोजनाले सबै क्षेत्रवा पक्ष समेटेको छ कि छैन आदि विषयमा अहिले बहस र छलफल सुरु भएको छ । सोही क्रममा मंगलबार राजधानीमा ‘बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना कार्यान्वयनार्थ एक दिवसीय योजना तर्जुमा अभिमूखीकरण कार्यक्रम’ को आयोजना गरिएको छ ।

बाल विकास समाजको आयोजना मन्त्रालयको सहकार्य र युनिसेफको सहयोगमा सम्पन्न सो कार्यक्रममा अधिकांश वक्ता र सरोकारवालाहरुले बालश्रमको गुरुयोजना कार्यान्वयनमा आउनु आफैँमा राम्रो पक्ष भएको बताए । बालश्रम निवारण चुनौतिपूर्ण रहेको उल्लेख गर्दै उनीहरुले बालश्रमलाई निवारण गर्ने भन्दा पनि न्यूनिकरण भने गर्न सकेने उल्लेख गरे ।

कार्यक्रममा युनिसेफका बाल संरक्षण अधिकृत शिवशंकर डङ्गोल, मन्त्रालयका उपसचिव सुजन जोजिजू, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक लालमणि ओझा, झलक गौतम, वरुण कुमार झा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

यसैगरी कार्यक्रममा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका फोकल पर्सन मणिनाथ गोप र मन्त्रालयकी शाखा अधिकृत राजकुमारी खत्रीले मन्त्रालयको रणनीति र भावि योजना तथा गुरुयोजना कार्यान्वयनका चरणहरु कसरी पुरा हुन्छन् भन्ने विषयका कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा बाल विकास समाजका महासचिव उद्धवराज पौडेलले निष्कर्ष प्रस्तुत गरेका थिए भने संस्थाका अक्ष्यक्ष सुवास गौतमले कार्यक्रमको समापन गरेका थिए ।