क्यान्सर लगायतका ८ वटा कडा रोगको उपचारमा सरकारी सहुलियत

मुख्य समाचार विषेश समाचार स्वास्थ्य

काठमाडौँ, १ जेठ, २०७६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न नागरिकका लागि सरकारले उपलब्ध गराउँदै उपचार यथावत रहेकाे जनाएकाे छ । क्यान्सर लगायतका ८ वटा कडा रोगको उपचार सुचिकृत अस्पतालहरुमा नियमित रुपमा चलिरहेको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गरेकाे छ ।

मन्त्रालयले चालु आर्थिक वर्षका लागि विपन्न उपचार कोषमा नपुग भएको बजेटका लागि आवश्यक पहल भइसकेको जनाएको छ। विज्ञप्तिमा भनिएकाे छ, ‘सरकारबाट विपन्न नागरिकको क्यान्सर लगायत ८ वटा कडा रोगहरुको उपचारका लागि सूचिकृत अस्पतालहरुलाई उपचारबापत सोधभर्ना गर्ने गरी आर्थिक सहायता प्रदान गर्ने व्यवस्था रहेको छ’ ।

सरकारले क्यान्सर, मुटु, मिर्गौला, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको उपचारका लागि विपन्न नागरिकलाई सहूलियत दिँदै आइरहेको छ। सरकारले मिर्गौला बाहेकका रोगको उपचारमा १ लाखसम्म सहुलियत दिँदै आएको छ।

मिर्गौला रोगमा भने डायलाइसिस निशुल्क, प्रत्यारोपण निशुल्क, प्रत्यारोपण अघिको आवश्यक परीक्षण र प्रत्यारोपणपछिको औषधिका लागि १ लाख उपलब्ध गराउँदै आएको छ। क्यान्सर लगायत अन्य कडा राेगमा सरकारले उपलब्ध गराएकाे आर्थिक सहायता राेकियाे भन्ने खबर प्रति मन्त्रालयले गम्भीर आपत्ति जनाएकाे छ ।