जलेको अवस्थामा महिलाको शव भेटियो

मुख्य समाचार समाज

सर्लाही, ३१ वैशाख, २०७६ । सदरमुकाम मलंगवा स्थित आफ्नै घरमा जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । मलंगवा नगरपालिका–८, निवासी विनोद गुप्ताकी श्रीमती ४५ वर्षीया कामनी देवीको शव आफ्नै घरमा जलेको अवस्थामा राती फेला परेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा कामनीले आफै शरीरमा पेट्रोल छर्केर आगो लगाएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका क्रममा मृतकका श्रीमान विनोदलाई नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान पौने २ बजेतिर कामनी जलेको अवस्थामा आप्mनै घरमा मृत फेला परेकी हुन् । प्रहरी पुग्दा विनोद मदिरा सेवन गरेर लठ्ठ अवस्थामा रहेका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले घटनाबारे गम्भीर ढङ्गले अनुसन्धान भईरहेको जानकारी दिए ।

मृतकका श्रीमान विनोद प्रायः मदिरा सेवन गरिरहने र छोरासमेत लागूऔषधको कुलतमा फसेर सुधारगृहमा बस्दै आएको पाइएको छ । काठमाडौंमा अध्ययनरत अर्का एक छोरा र छोरी आइरहेको तथा माइतीपक्षका समेत कोही पनि नआएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रमुख भट्टराईले पछिल्लो कानुन अनुसार आत्महत्या गर्न बाध्य बनाएको पाइए कारवाही हुने व्यवस्था रहेको जानकारी दिए । ‘हामी गम्भिर अनुसन्धान प्रकृयामा छौं, यदि आत्महत्या गर्न बाध्य बनाइएको पाइए त्यस्तालाई पनि कानूनी दायरामा ल्याउने छौं’, उनले भने ।