प्रदेश दुईलाई प्रदेश एक सरकारको एक करोड सहयोग

प्रदेश मुख्य समाचार

जनकपुर, ३१ वैशाख, २०७६ । गत चैत महिनामा बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीले घरवार बिहीन भएका पीडितलाई पुनस्र्थापना गर्न सहयोग स्वरुप प्रदेश एकले प्रदेश दुईलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले सोमबार प्रदेश दुईको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमै पुगेर समकक्षी लालबाबु राउतलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

एक अर्काको दुःख, सुखमा साथ रहेको सन्देश दिनुको साथै आपसी सहयोग र सहकार्य कायम गर्ने उद्देश्यले आर्थिक सहयोगको निर्णय मन्त्रीपरिषद्ले गरेको मुख्यमन्त्री राईले बताए । प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले एक प्रदेशले अर्को प्रदेशलाई परेको बेला आर्थिक सहयोग गरेपछि प्रदेशहरुबीचमा एकता र सहकार्यको सम्बन्ध स्थापित हुने बताए ।

यस अघि प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले पनि प्रदेश दुईको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै पुगेर एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । बारा र पर्सा विपद्पछि सहयोगको अपिल गरे यता मुख्यमन्त्री राहत कोषमा करिब पाँच करोड रुपैयाँ जम्मा भएको प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रतिनिधि विनोद गेलालले जनाए ।