बलात्कारको आरोपमा वडा सदस्य पक्राउ

मुख्य समाचार समाज

ओखलढुंगा, ३१ वैशाख, ओखलढुंगाको लिखु गाउँपालिकाका वडा सदस्य युवती बलात्कारको आरोपमा पक्राउ परेका छन् । लिखु गाउँपालिका वडा नं. ३ का वडा सदस्य विष्ण्ॉ श्रेष्ठ युवती बलात्कार आरोपमा पक्राउ परेका हुन् ।

लामो समयदेखि फरार रहेका श्रेष्ठलाई सोमबार ओखलढुंगा सदरमुकामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिब श्रेष्ठले जानकारी दिए । प्रहरीमा वडा सदस्य श्रेष्ठले उनकै ईट्टा कारखानामा काम गर्ने एक स्थानीय युवतीलाई बलात्कार गरेको आरोप लागेको छ ।

कार्य क्षेत्रमै गत चैत ७ गते बलात्कार गरेको भनी पीडित युवतीले ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । लामो समयसम्म घरपरिवारबाट समेत सम्पर्क विहीन भएका आरोपित श्रेष्ठलाई उनका छोराले युवतीले दिएको जाहेरीका बारेमा छलफल गराउन जिल्ला प्रहरी कार्यालमै आउदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको उनका छोराले बताएका छन् ।

घटना सार्वजनिक भएदेखि नै श्रेष्ठ आफूले प्रयोग गर्ने फोनसमेत स्वीच अफ गरी सम्पर्क बिहीन भएका थिए । पीडितको उजुरी आएपछि प्रहरीले उनको खोजी गरिरेहेको थियो । आरोपित श्रेष्ठलाई पक्राउ गरी घटनाका विषयमा थप अध्ययन अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।