चीनको कान्सु प्रान्त नेपालमा थप व्यवसाय भित्र्याउन इच्छुक

आजको बजार मुख्य समाचार विषेश समाचार

प्रदेश नम्बर तीनसँग भगिनी सम्बन्ध स्थापना हुने
रमेश हतुवाली, ३१ वैशाख, २०७६ । चीनको कान्सु प्रान्त नेपालमा थप व्यवसाय भित्र्याउन इच्छुक देखिएको छ । सोमबार काठमाडौंमा आयोजित चीनको कान्सु–नेपाल आर्थिक तथा व्यापार सहयोग प्रवर्द्धन कार्यक्रममा बोल्दै चीनको कान्सु प्रान्तका गर्भनर थाङ रनच्यानले सो विचार व्यक्त गरेका हुन् ।

नेपाल र चीनबीच हजारौं वर्षदेखि प्रगाढ सम्बन्ध रहँदै आएको स्मरण गर्दै गभर्नर थाङले स्वान चाङ र फा स्यानजस्ता महान चिनिया भिक्षुहरुले नेपाल चीन सम्बन्धलाई अझ मजबुत बनाएको बताए । चीनको वेल्ट एण्ड रोड परियोजनालाई नेपालले दिएको ठूलो समर्थनको लागि धन्यवाद ज्ञापन गर्दै गर्भनर थाङले यस परियोजनाको माध्यमबाट दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध अरु सबल हुने विश्वास व्यक्त गरे । कान्सु प्रान्त र नेपालबीच आदान प्रदान तथा सहयोगको लागि अत्यन्त ठूलो स्पेस रहेको जानकारी दिँदै गर्भनर थाङले नेपालमा थप व्यवसाय भित्र्याउन चीन इच्छुक रहेको बताए ।

सो समारोहका प्रमुख अतिथि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले नेपालमा कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रमा थप लगानी बढाउन आवश्यक रहेको भन्दै चीनसँग भएको अनुभवका आधारमा कृषि क्षेत्रमा पनि लगानी बढाउन चीन सरकारसँग अनुरोध गर्नुपर्ने बताए । नेपालमा चीन सरकारले गरेको लगानी तथा सहयोगको पुनः मूल्याङकन गर्नुपर्ने बताए । मन्त्री खनालले नेपालमा चिनिया लगानीमा स्थापना भएका धेरै योजनाहरु अलपत्र रहेको भन्दै त्यस्ता आयोजनालाई पुःन मूल्याङकन गर्नुपर्ने बताए । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको भृकुटी कागज कारखान आज अस्तिपन्जरको रुपमा रहेको र त्यसले गिज्याइरहेको भन्दै मन्त्री खनालले चीनको लगानीमा स्थापना भएका धेरै उद्योग तथा कलकारखाना जीर्ण अवस्थामा रहेकोले पनि त्यस्ता आयोजनाहरु पूर्ण रुपमा मूल्याङकन गर्न जरुरी रहेको बताए । नेपाल र चीनबीच ऐतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहेको बताउदै मन्त्री खनालले चीनसँगको सम्बन्धलाई विभिन्न क्षेत्रमा विस्तार गर्नुपर्ने बताए । गत महिना चीनमा सम्पन्न वेल्ट एण्ड रोडको दोश्रो शिखर मञ्चमा नेपालका राष्ट्रपतिको सहभागिताले नेपाल एक स्तर माथि उठेको बताए ।

काठमाण्डौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना हुनु भन्दा धेरै अघि नै दुई देशबीचमा अन्योन्याश्रीत सम्बन्ध रहेको र नेपाल तथा चीनबीच सामाजिक, आर्थिक तथा सांस्कृति क्षेत्रको विकास सम्बन्धी समान आकांक्षा रहेको बताए ।

समारोहमा कान्सु प्रान्तको राजधानी शहर लान्चौका उपप्रमुख मा छाईयुन र कान्सु प्रान्तको कान्नान् प्रिफेक्चरका उपमेयर स चानल्याङ र कान्सु प्रान्तीय व्यापार विभागका निर्देशक चाङ यिङह्वाले नेपाल र लान्चौ तथा कान्नन्बीच सहयोग एवम् लगानीका लागि उचित वातावरण रहेको र वेल्ट एण्ड रोड परियोजनाले दुई मुलुकबीचको आपसी सहयोग तथा आदानप्रदानलाई अरु सहज बनाइदिएकोले नेपाली व्यवसायीहरुलाई ती क्षेत्रहरुमा अवलोकन भ्रमण, विचार आदानप्रदान तथा लगानीको लागि आमन्त्रण समेत गरेका थिए ।

यसैबीच चीनको कान्सु प्रान्त र नेपालबीच विभिन्न चारवटा सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । चीनको कान्सु–नेपाल आर्थिक तथा व्यापार सहयोग प्रवद्र्धन मेलामा सोमबार चीनको कान्सु प्रान्तले नेपालको तीन नम्बर प्रदेशसँग भगिनी सम्बन्ध स्थापना गर्ने गरी सम्झौता गरेको छ । सम्झौता पत्रमा तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र कान्सु प्रान्तका गर्भनर थाङ रनच्यानले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोहमा बोल्दै मुख्यमन्त्री पौडेलले छिमेकी चीन र चीनको कान्सु प्रान्तको विकासबाट नेपालले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेको बताउँदै सम्झौताले दुई प्रान्तबीच थप सहयोग र सम्बन्ध आदान प्रदान हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी कान्सु प्रान्तको राजधानी शहर लान्चौले काठमाडौं महानगरपालिकामा थप आर्थिक तथा व्यापारमा सहयोग विस्तार गर्ने उद्देश्यले सम्झौता गरेको छ । सम्झौता पत्रमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र लान्चौ नगरपालिकाका उपमेयर मा छाईयुनले हस्ताक्षर गरेका छन् । यस्तै, कान्सु प्रान्तमा लगेस्टिक भण्डार स्थापना गर्ने साथै सनराईज बैंकलाई सो प्रान्तसँग कारोबार गर्न अनुमति दिने सम्झौता पत्रमा पनि हस्ताक्षर भएको छ ।