सल्यानमा डढेलोमा परेर दुई जनाको मृत्यु, १३ घर जलेर नष्ट

मुख्य समाचार समाज

सल्यान, ३० वैशाख, २०७६ । गत बिहिबारदेखि सल्यानका विभिन्न ठाउँमा भइरहेको डढेलोमा परेर अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । आगलागीका कारण १३ घर पूर्णरुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ रामकाडाबाट सुरु भएको आगलागी अझैसम्म पनि नियन्त्रणमा आउँन नसकेको प्रहरीले जनाएको छ । अहिले पनि जिल्लाका विभिन्न ठाउँमा सुरक्षाकर्मी आगो नियन्त्रणका लागि खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

आगलागीमा परेर अहिलेसम्म जिल्लाको छत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिकामा एक÷एक जनाको मृत्यु भएको डिएसपी शाहीले बताए । छत्रेश्वरी गाउँपालिका– ६ का ५५ वर्षीया प्यान्टी बोहरा र शरदा नगरपालिका–९ दुवेरीका ६३ वर्षीय गोवर्धन पुनको मृत्यु भएको र गाउँपालिका– ६ का ४० वर्षीय खगेन्द्र बोहरा गम्भीर घाइते भएको डिएसपी शाहीले जनाए । सोमबार साँझसम्म पनि यहाँका जंगलमा आगलागी भइरहेको छ । जंगलमा भइरहेको आगो नियन्त्रण गर्न सक्ने अवस्थामा नरहेको बताइएको छ ।