जानकी नवमीलाई ‘राष्ट्रिय पर्व’ को रूपमा मनाउनु पर्छ : राष्ट्रपति

कला/संस्कृति मुख्य समाचार विषेश समाचार

धनुषा, ३० वैशाख, २०७६ । राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी नवमीको अवसरमा राष्ट्रिय उत्सव मनाउनुपर्ने बताएकी छिन् । सोमबार जनकपुरस्थित जानकी मन्दिरमा पूजा अर्चनागरी जानकी नवमी महामहोत्सवलाई सम्बोधन गर्दै उनले जानकी नवमीलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदा राष्ट्रिय एकता कायम गर्न टेवा पुग्ने बताइन् ।

‘प्राचीन कालदेखि शिक्षा र सभ्यताको दृष्टिकोणले अग्रस्थानमा रहेको जनकपुरको गरिमालाई विश्वस्तरमा फैलाउन जानकी नवमीको दिन सम्पूर्ण नेपालसँगै विदेशमा रहेका हिन्दू समुदायले उत्सव मनाउनुपर्ने हो’ उनले भनिन् । उनले राष्ट्रिय गौरवको रुपमा रहेको जानकी मन्दिरलगायत जनकपुरस्थित विभिन्न मठ, मन्दिरको जग्गा संरक्षणका लागि सम्बद्ध निकायहरुलाई ध्यानाकर्षण गराइन् ।

वेदको उद्गम स्थल भनेर विश्वमा चिनिने जनकपुरको महत्व समान्य देखिने सामाजिक विकृतिको कारण धुमिलिन नहुने उल्लेख गर्दै विभिन्न बहानामा मठ, मन्दिरको जग्गा अतिक्रमण तथा बेचविखन भइरहेको कार्य ठीक नभएको उनले बताइन् ।

संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जनकपुरका मठ मन्दिरको जग्गा लगायत चल, अचल सम्पती संरक्षण, सम्बद्र्धन गर्न उच्चस्तरीय समिति गठन गरेको बताए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रिय विभूति जानकीलाई संघीय सरकारले उपेक्षा गरेको आरोप लगाए ।