वर्खायाममा पानीजन्य रोगको जोखिम धेरै

मुख्य समाचार विषेश समाचार स्वास्थ्य

काठमाडौँ, ३० वैशाख, २०७६ । वर्खायाममा पानीजन्य रोगको जोखिम धेरै हुन्छ । किनभने वर्खायाममा पानीका मुहान कि त दुषित भएका हुन्छन् कि त नष्ट भएका हुन्छन् । पानीका मुहानमा वर्षाको समय जनावरका मलमूत्र अनि ढल मिसिने भएकाले पनि रोग सर्ने जोखिम उच्च हुन्छ ।

दुषित पानीको प्रयोगले विशेषगरी झाडापखाला, भाइरल ज्वरो, आउँ, टाइफाइडको खतरा रहने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ट्रपिकल मेडिसियन फिजियसन डा. अनुप बास्तोलाले बताए । बास्तोला भन्छन्, ‘धानको खेतमा काम गर्दा संक्रमित मुसाको पिसाब रहेछ भने स्क्रब टाइफस सर्ने पनि हुन्छ ।’

गर्मी मौसममा यी रोगका ब्याक्टेरिया सक्रिय हुने भएकाले पनि जोखिम हुने उनले बताए । गर्मी महिनामा यी रोगका बिरामी त अझ बढ्छन् । उसै त गर्मी मौसममा रोगको संक्रमण छिटो फैलन्छ त्यसोमा दुषित पानीको प्रयोगले यो सम्भावनालाई थप गर्छ । यी सबै रोगबाट बच्न पानी उमालेर तथा शुद्धिकरण गरेर मात्र प्रयोग गर्न डा. बास्तोलाको सुझाव छ । यसका साथै साबुन पानीले हात धुने गरेमा पनि यी रोगबाट बच्न सकिन्छ ।

दिसा गरिसकेपछि, खाना खानुभन्दा पहिला, खाना बनाउनु अघि र खाना सर्भ गर्नु पहिला साबुन पानीले हात धुनु आवश्यक छ । बर्खायाममा पानीजन्यसँगै खानाजन्य रोगको जोखिम उत्तिकै रहन्छ । सुन्दा सामान्य लागेपनि झाडापखाला, भाइरल ज्वरो लगायत रोगले जटिल रुप लिए मानिसको ज्यानै जान समेत सक्छ । त्यसैले पानीलाई उमालेर तथा शुद्धिकरण गरेर मात्र प्रयोग गर्न सके धेरै रोगबाट बच्न अनि बचाउन सकिन्छ ।

Loading...