…तैपनि हामी मुख सिँगार्नमै ब्यस्त छौँ !

मुख्य समाचार विचार विषेश समाचार

– डिल्लीराज अर्याल

मान्छेहरू कोठा बढारेर गल्लीमा घुर फ्याँक्छन्, गल्ली बढारेर आँगनमा, आँगन बढारेर घर अगाडि सडक छ भने सडकमा फ्याँक्छन्। कोठा बढारेर गल्लीमा घुर फ्याँक्दा कोठा त सफा होला तर गल्ली? गल्ली फोहोर राखेर घर सफा हुन्छ? हुन्न। गल्लीको घुर आँगनमा फ्याँकेर घर सफा हुन्छ? हुन्न। आँगन बढारेर सडकमा,बाटामा फ्याँकेर सुग्घरी भइन्छ? भइन्न, किनकि हामीले ओहोर दोहोर त त्यहीँबाट गर्नुपर्छ, गरिन्छ।

धेरैजसो मेरा मनमा उब्जने प्रश्न र उत्तर पनि यिनै र यस्तै हुन्छन्। थुप्रै मान्छेलाई यी कुरा साना लाग्लान्, महत्त्वहीन लाग्लान् तर मलाई त यिनै र यस्तै कुराले खाइरहन्छन् ।

घुर, फोहर त कन्टेनरमा, घुर्यानमा व्यवस्थित गर्नुपर्ने हो, या त मल, ऊर्जा… आदि बनाउनेमा लगाउनु पर्ने हो तर हामीले त्यतातिर ध्यान दिन पनि सकेका छैनौँ। कुन कुरालाई कसरी व्यवस्थित गर्ने? कुन कुरालाई कसरी प्रयोग गर्ने भन्नेतिर हाम्रो ध्यान कहिल्यै गएन र त हामी सबै चीज भएर पनि गरीब बनिरह्यौँ। गरीब मात्र भएनौं अज्ञानी र आशामूखी पनि।

हाम्रो ध्यान मुख सिंगार्तिर एकोहोरियो। शरीर सिँगार्नेतिर लागिरह्यो। कोठा सिंगार्यौ, गल्ली सिंगार्यौँ रङ लाएर घर पनि सिँगार्यौँ तर घुर, फोहोरको व्यवस्थापन नहुँदा हाम्रा कोठा, गल्ली, घर, आँगन उस्तै रहे। नजिक बढारे पनि नजिकै फ्याँकेका घुर फेरि झन् नजिकिए र उस्तै भए। हाम्रो यो अभ्यास हाम्रा सन्ततीमा अझै बिस्तारित भयो । तिनी सडकमा ईटा, ढुङ्गा, काठ राखेर बल खेल्न थाले, क्रिकेट हान्न थाले र तिनलाई त्यत्तिकै छाडेर घरतिर फर्के तर हामी अभिभावकमा तिनलाई सचेत बनाउने सोच आएन। बाटामा खेल्दाका नोक्सानी तिनले बुझ्नै सकेनन्। हामीले घुरको व्यवस्थापन नगर्दाको नोक्सानीमा ध्यान नदिए झैं तिनले पनि दिएनन्। अनि हामी र हाम्रा सन्तती यौटै रोगका शिकार भयौँ- अर्थात् अव्यवस्थापनका, दुरुपयोगका।

मुख सिँगार्दैमा शरीर र शरीर सिँगार्दैमा मन सफा हुँदैन । हुने भए शहर बजारमा त्यसरी सिँगार्नेको कमी थिएन र मन सफा भएका मान्छे भरिभराउ भएपछि आजका हाम्रा शहर स्वर्गै हुने थिए र थुप्रै गाउँ पनि। आज मुख सिँगार्ने र शरीर सिँगार्ने सोच र क्रम जताततै छ तर त्यसले मन सिँगार्दो रहेनछ। त्यसै भएर मुखको, शरीरको सिँगारले मन सिँगारिएको देखिएन, जानिएन। मनलाई सफा गर्ने त अरू नै विधि हुन्छन् । ती अलि अलग्गै हुन्छन् । हामी त्यो मन सिँगार्नेतिर लागेनौँ, त्यतातिर सोच्दै सोचेनौँ, मुख र शरीर सिँगार्नमै व्यस्त भयौँ । त्यही सिँगारेको मुख, शरीर हेरेर मख्ख भयौँ ।
अचम्म के भयो भने मुखको, शरीरको सिँगार जति गरे पनि, जति सजधज गरेर हिडे पनि जीवनमा कहिल्यै हँसिलो खुसिलो हुन सकेनौं । कहिल्यै अरूको राम्रो कामको, विचारको प्रशंसा गर्न सक्ने भएनौँ । अरूको मिहिनेतको कमाइ देखेर प्रसन्न बन्दै मिहिनेत गर्न सिक्नेतिर पनि लागेनौँ। अरूको ईर्ष्या गर्न, अरूको धन ,सम्पत्ति देखेर लोभिन छोडेनौँ। त्यस्तो लोभ त्यागेर उन्नति गर्नेतिर लाग्न खोजेनौँ । अरूको नचाहिँदो नक्कल, फोहर बटुल्न भने जतिबेला पनि अघि सर्यौँ त्यसैले होला हामी कहिल्यै सफा, सुग्घरी बन्न सकेनौँ । बन्नेतिर लागेनौँ, लाग्न सक्छौँ भन्ने सोचको विकाससम्म पनि गरेनौँ। हाम्रा सन्ततिले पनि हाम्रै अनुशरण गरिरहे। सडकमा ईटा, ढुङ्गाको राश लाइरहे। फुटबल, क्रिकेटका मैदान बनाइरहे । कागज च्यातेर मिल्काइरहे।

डिल्लीराज अर्याल

घुर, फोहोर मैलाले, रिसले, ईर्ष्याले, डाहाले, लोभ र स्वार्थले आफ्ना आँगन, घर, कोठा फोहर बनाउने अनि सुग्घरी बन्न ब्युटी पार्लर जाने, स्नानघर जाने, पवित्र बन्न गङ्गा जमुना, प्रयाग, बदरी, केदार, लुम्बिनी, स्वयम्भू …मक्का मदिनासम्म पुग्ने भयौँ हामी। जमिन माथिको पानी फोहर बनाएर,सिध्याएर जमिन मुनिकोमा समेत हस्तक्षेप गर्ने हामी, भएको धर्तीको जमिन कब्जा गरेर अन्तरिक्ष समेत कब्जा गर्न खोज्ने भयौँ। हरेक ठाउँमा हस्तक्षेप, कब्जा र प्रयोग गर्ने अनि बिगार्ने र अरूलाई दोषारोपण गर्ने भयौँ । त्यति गर्दा पनि गुनासो गर्ने, पछुताउने बन्दै गयौँ र गर्दै गयौँ। त्यसको निरन्तरता छ, उन्नति पनि भएको छ।

फोहर एकातिर, सफाइ अर्कातिर भयो। हो, फोहर मनमा रह्यो सफाइ मुखमा, शरीरमा भयो । एकातिर सफा भयो र अर्कातिर फोहर। मान्छे सफा हुन, राम्रो हुन ब्युटीपार्लर जान थाल्यो । मुख सिँगार्योो तर त्यसो गर्दैमा मन सफा हुन्छ ?

स्नानघरमा गएर साबुन, सेम्फो दलेर हुन्छ ? मन सफा नभैकन मान्छे सफा हुन्छ ? हुँदैन, तर हामीले सफाइका नाममा त्यही गरिरह्यौं, गरिरहेछौँ । अनि कसरी सफा हुन्छौँ हामी? कसरी अरूले सफा मानेर स्वीकार गर्छन् हामीलाई? मन सफा नभए, नगरे पनि हुन्छ त हाम्रो सफाइ? सडक, आँगन सफा नभइकनै सफा हुन्छन् त हाम्रा घर? मयलले भरिएको मन कसरी स्वस्थ हुन सक्छ? अस्वस्थ मन भएको मान्छे कसरी स्वस्थ हुन सक्छ? अस्वस्थहरूको जमात कसरी सुखी र सम्पन्न हुन सक्छ? सक्दैन, तैपनि हामी मुख सिँगार्नमै ब्यस्त छौँ। त्यसमै मख्ख छौँ । हामी २१औँ शताब्दीका पढेलेखेका मान्छे !